मधेश प्रदेशमा बाढीका कारण तीन जनाको मृत्यु

धनुषा । हालैको अविरल वर्षासँगै आएको बाढीले मधेस प्रदेशको जनजीवन प्रभावित बनेको छ ।  मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार मधेसमा हालसम्म तीन जनाको मृत्यु भएको छ । प्रदेशको आठवटै जिल्लामा आठ जना घाइते भएका र उनीहरुको अवस्था सामान्य छ ।

मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सुभाष बोहराको अनुसार महोत्तरीमा दुई र सप्तरीमा एक गरी तीन जनाको मृत्यु भएको छ भने सर्लाहीका एक जना बेपत्ता छन् । उनका अनुसार मृत्यु हुेनमा महोत्तरीको गौशाला नगरपालिका–८ कुसमारीका १६ वर्षीय रोहित साहको सोनी खोलाले बगाएर मृत्यु भएको छ भने सप्तरी बलान बिहुल गाउँपालिका–४ घर भई राजविराज नगरपालिका–८ मा बस्दै आएका आठ वर्षीय प्रिन्सकुमार साह मृत भेटिएका छन् ।

महोत्तरीकै बर्दिबास नगरपालिका–११ खयरमाराका २१ वर्षीय मानबहादुर थिङलाई खयरमारा खोलाले बगाएर मृत्यु भएको छ । सर्लाहीको बागमती नगरपालिका–९ स्थित सक्रोलका १५ वर्षीय मुकेश महतो सोती खोलाले बगाएर बेपत्ता छन् । रौतहटमा तीन, सिरहामा एक, सर्लाहीमा एक र बारामा तीन जना घाइते भएकामा उपचारपछि सामान्य अवस्थामा रहेको प्रहरी उपरीक्षक बोहराले बताए । 

त्यस्तै, बेपत्ता हुनेमा महोत्तरीको लोहारपट्टी नगरपालिका–५ का ३८ वर्षीय जाविर अन्सारी, पर्साको सिर्सिया नदीमा आएको बाढीमा बगेर भारत विहार मोतिहारी जिल्लाका ३२ वर्षीय किशोर राउत र कमला नदीमा आएको बाढीको बेला दाउरा निकाल्ने क्रममा धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ पोर्ताहाका ३५ वर्षीय सान परियार र उनकी श्रीमती माया रहेका छन् ।

प्रहरी उपरीक्षक बोहराले यस प्रदेशमा ९६ घरपरिवारका चार सय ८८ जना विस्थापित भएका छन् भने बाढीमा फसेका ३५ जनालाई उद्धार गरिएको छ । प्रहरी उपरीक्षक बोहराले गौर कारागारमा वाग्मती खोलाको पानी पसेपछि १२ जना महिला थुनुवा÷कैदीलाई नेपाल प्रहरीको जिल्ला प्रहरी कार्यालयको हिरासतमा सुरक्षित राखिएको बताए । 
 

प्रतिक्रिया