प्रधानमन्त्री ओली आज स्वदेश फर्कदैँ, फर्केलगत्तै मन्त्रिपरिषद्को बैठक बस्ने

काठमाडौ‌ । प्रधानमन्त्री के‍.पी. शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी भई आज अपराह्न ४ः०० बजे स्वदेश फर्कदैँ छन् । त्यसको एक घण्टा पछि प्रधानमन्त्री ओलीले ५ बजे मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

महासभामा भाग लिन यही असोज ४ गते संयुक्त राज्य अमेरिकाको न्युयोर्क गएका  प्रधानमन्त्री ओलीले महासभालाई असोज १० गते सम्बोधन गरेका थिए । महासभाका क्रममा यस वर्ष ‘कोही पनि पछाडि नछोडिनेः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ भन्ने विषयमा केन्द्रित भई छलफल भयो । न्युयोर्क रहँदा प्रधानमन्त्री ओली महासभाको साधारण बहसको उद्घाटनसत्र र अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गरेको  स्वागत समारोहमा सहभागी  भए । उनले अति कमविकसित देशहरूको सम्मेलन र ‘एन्टिमाइक्रोबियल’ प्रतिरोध विषयक उच्चस्तरीय बैठकलाई सम्बोधनसहित विभिन्न कार्यक्रममा सहभागी भए । 

उनले भ्रमणका क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितका आफ्ना समकक्षीसँग भेटघाट गरी द्विपक्षीय वार्ता गरे  । प्रधानमन्त्री ओलीका साथमा राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्रसचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकृत गएका थिए । 
 

प्रतिक्रिया