खोटाङमा पहिरोले ३३ घर पुरिए

खोटाङ ।  अविरल वर्षासँगै आएको बाढी तथा पहिरोले जिल्लामा ३३ घर पुरिएका छन्भने दुई घाइते तथा ३८  घरमा आंशिक क्षति पुगेको छ । 

मानवीय क्षति नभए पनि करोडौँ मूल्य बराबरको क्षति पुगेको जिल्ला  विपद व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए  । 

बाढी तथा पहिरो पीडितलाई तत्काल राहत उपलब्ध गराउन तथा पुनःस्थापनाका लागि आइतबार साँझ जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेको छ । प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’सहितको उपस्थितिमा आयोजित बैठकमा क्षतिको विवरण तत्काल सङ्कलन गरी चाँडोभन्दा चाँडो राहत उपलब्ध गराउने निर्णय भएको छ । 

बाढी तथा पहिरोले घर बगाएर विस्थापित बनेका एक सय ३५ स्थानीयवासीलाई नजिकको विद्यालय तथा आफन्तकामा सारिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिए ।  

बाढीका कारण खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोशीस्थित फोक्सिङटारको पक्की पुल बगाएको छ । खोटाङ र उदयपुर जोड्ने बङ्शिलाघाट, ऐँसेलुखर्क  गाउँपालिका–४ जलेश्वरीस्थित कम्फुघाट, खोटाङ र उदयपुरकै धाप्लाङघाट, जन्तेढुङ्गा गाउँपालिका–१ रमिते र उदयपुर जोड्ने मैनाटार तथा दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित भण्डारेघाटको झोलुङ्गे पुल बगाएको छ । विसं २०७९ मा निर्माण सम्पन्न गरेर सञ्चालन गरिएको फोक्सिङटारको पक्की पुल तथा अन्य पाँच झोलुङ्गे पुलहरु शनिबार दिउँसोको बाढीले बगाएको हो । 

फोक्सिङटारको पुल बगाएपछि पूर्वी तराईसँगको सिधा यातायात सम्पर्क विच्छेद भएको छ । खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने आर्क डिजाइनको  उक्त पुल बगाएपछि सिधा यातायात सम्पर्क विच्छेद भएको हो । 
 

प्रतिक्रिया