अलपत्र ३४ यात्रुको हेलिकप्टरबाट उद्धार

सिन्धुली । बाढीपहिरोका कारण बिपी राजमार्ग अवरुद्ध बनेपछि अलपत्र परेका ३४ जनालाई हेलिकप्टरबाट उद्धार गरेको छ । सुनकोशीको गजुरीदहबाट उनीहरुको उद्धार गरेको हो । बिपी राजमार्गको नेपालथोक र मङ्गलटार बीचको भागमा अलपत्र परेका यात्रुलाई नेपाली सेनाको  हेलिकप्टरमा उद्धार गरिएको सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए ।

उद्धार गरिएका मध्ये एक विदेशी नागरिक रहेका छन् । उनीहरुलाई गजुरदहबाट उद्धार गरी काठमाडौँ पठाइएको हो । सडक अवरुद्ध हुँदा सिन्धुलीबाट काठमाडौँतर्फ जाँदै गरेका र काठमाडौँबाट सिन्धुलीतर्फ आउँदै गरेका सयौँ सवारीसाधन सडकमै थुनिएका थिए ।

नेपालथोकदेखि खुर्कोटसम्मको सडकखण्ड एकतर्फी सञ्चालनमा आए पनि नेपालथोकदेखि धुलीखेलसम्म सडक तत्काल खुलाउन  कठिन भएपछि यात्रुको हेलिकप्टरमा उद्धार गर्न गृहमन्त्रालय र नेपाली सेनासँग समन्वय गरिएको प्रहरी उपरीक्षक काफ्लेले बताए ।

प्रतिक्रिया