महिलालाई निर्वस्त्र पारेर दौडाइरहेको भिडियो बाहिरिएपछि मणिपुर घटनाको चौतर्फी आलोचना

भारतको संसद्मा उत्तर–पूर्वी राज्य मणिपुरमा भएको जातीय हिंसाको विषयमा भारतमा चर्को विरोध सुरु भएको छ ।  झन्डै तीन महिनादेखि जातीय हिंसाले ग्रस्त मणिपुरमा पुरुषको भिडले दुईजना आदिवासी महिलालाई निर्वस्त्र पारेर दौडाइरहेको भिडियो बाहिरिएपछि घटनाको चौतर्फी आलोचना भएको छ । प्रहरीले पीडित महिलाहरूमाथि सामूहिक बलात्कार भएको मुद्दा अघि बढाइएको र एक आरोपितलाई पक्राउ गरिएको जनाएको छ । अर्का एक सन्दिग्ध व्यक्तिको खोजी भइरहेको प्रहरीको भनाइ छ । सांसदहरूले घटनाबारे छलफल गरिनुपर्ने माग गरेपछि बिहीबारको भारतको सघंय संसद्को बर्खे अधिवेशन अवरुद्ध भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाले भारतलाई लज्जित बनाएको भन्दै घटनाका दोषीलाई उम्किन नदिने बताएका छन् । भारतको सर्वोच्च अदालतले पनि महिलामाथि भएको आक्रमणबारे चासो देखाएको छ ।प्रधानन्यायाधीश डीवाई चन्द्रचूडले उक्त भिडिओले आफूलाई विचलित बनाएको भन्दै त्यसबारे यथोचित कदम चाल्न सरकारलाई भनेका छन । सर्वोच्च अदालतले यो घटनालाई आफ्नो जानकारीमा लिँदै पूरा घटनाबारे जुलाई २८ मा सुनुवाइ गर्ने बताएको छ ।यो भिडियो बाहिर आएसँगै भारतमा महिला सुरक्षाको अवस्थामा सरोकारबालाले प्रश्न उठाएका छन । मे चारमा खिचिएको विश्वास गरिएको भिडियोमा महिलामाथि सामूहिक बलात्कार भएको आदिवासी संगठनले आरोप लगाएका छन् । मणिपुर प्रहरीले भने यौन उत्पीडनको उजुरी दर्ता गरिएको र दोषीलाई चाँडै गिरफ्तार गरिने जनाएको छ । केन्द्रीय मन्त्री स्मृति इरानीले घटनालाई अमानवीय भन्दै आफूले मणिपुरका मुख्यमन्त्री बिरेन सिंहसँग कुरा गरेको जनाएकी छन्  कंग्रेस नेता राहुल गान्धीले ट्विट गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीको मौनता र निष्क्रियताले मणिपुरलाई अराजकतातर्फ धकेलिदिएको आरोप लगाएका छन् । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मणिपुरको घटना लज्जास्पद रहेको भन्दै दोषीमाथि कठोर कारबाहीको माग गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत घटनाका दोषीलाई कानुनी कारबाहीको दायरमा ल्याइने बताएका छन ।मैतेई समुदायले अनुसूचित जातिमा सूचीकृत गरिनुपर्ने माग अघि सारेपछि मणिपुरमा मे ३ देखि जातीय हिंसा भड्किएको हो । हिंसाका क्रममा १४० भन्दा धेरैले ज्यान गुमाएका छन् भने हजारौं विस्थापित भएका छन् ।

प्रतिक्रिया