घाइतेको निःशुल्क उपचार गर्न स्वास्थ्य मन्त्रालयको आग्रह,पछि सोधभर्ना दिइने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थाहरूले उद्धार गरिएका घाइतेको निःशुल्क उपचार गर्न आग्रह गरेको छ । 

मन्त्रालयले आज आइतबार विज्ञप्ति जारी गर्दै उद्धार गरिएकालाई स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक सेवा र जनशक्तिलाई २४ सै घण्टा उपलब्ध हुनेगरी व्यवस्था मिलाउन आग्रह गरेको हो ।मन्त्रालयका  प्रवक्ता डा. प्रकाश बुढाथोकीले उद्धार गरिएका घाइतेको स्वास्थ्य संस्थाहरूले निःशुल्क उपचार गर्ने र उपचारको रेकर्ड राखेर पछि सोधभर्ना गरिने व्यवस्था गरेको जानकारी दिए । 

डा. बुढाथोकीले मन्त्रालयले जनस्वास्थ्यको सुरक्षा व्यवस्थापनका लागि स्थानीय जिल्ला स्वास्थ्य कार्यालय, प्रदेशस्थित सम्बन्धित निकायमार्फत स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रहरूले समन्वयको व्यवस्था गरिरहेको बताए । मन्त्रालयले सबै प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रहरूले आपतकालीन अवस्थामा स्वास्थ्यसम्बन्धी समस्याबारे जानकारी प्रदान गर्नका लागि हटलाइन नम्बर सार्वजनिक गर्न, प्रदेश, जिल्ला र स्थानीय तहका द्रुत प्रतिकार्य टोलीलाई तयारी अवस्थामा राख्ने, प्रादेशिक स्वास्थ्य आपतकालीन केन्द्रहरूले हब तथा स्याटेलाइट अस्पतालसँग समन्वय गरी आकस्मिक चिकित्सिकीय समूहलाई तयारी अवस्था राख्न आग्रह गरेको छ ।

त्यसैगरी हब तथा स्याटेलाइट अस्पताल सञ्जालले अस्पताल विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाअनुसार प्रतिकार्य गर्न गराउन, प्रादेशिक स्वास्थ्य आपतकालीन केन्द्रहरूले स्वास्थ्यका साझेदार निकायसँग समन्वय गर्न र स्रोत साधनको अध्यावधिक गर्न/गराउन, आपतकालीन अवस्थामा स्वास्थ्यसम्बन्धी कुनै समस्याबारे जानकारी आवश्यक परेमा कल सेन्टरको हटलाइन नम्बर १११५ मा सम्पर्क गर्न मन्त्रलायले भनेको छ ।
रासस

    

प्रतिक्रिया