नख्खु खोलामा उद्धार गर्न खोज्दा खोज्दै घटना भयो: गृहमन्त्री लेखक

विपद्‌बारे पूर्वसूचना र तयारीले क्षतिलाई न्यूनीकरण गर्न मद्दत पुगेको जिकिर

काठमाडौ । गृहमन्त्री रमेश लेखकले बिपद्‌बारे पूर्वसूचना र तयारीले क्षतिलाई न्यूनीकरण गर्न मद्दत पुगेको बताएका छन् । आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको सर्वदलीय बैठकमा उनले विपद् पूर्वको सूचना र तयारीले क्षति कम भएपनि थप व्यवस्थित गर्न जरुरी रहेको बताए।

‘विपद न्यूनीकरण र विपद्को व्यवस्थापनमा दुई वटा चरण हुन्छ। एउटा विपद् पूर्वको सूचनाको विषय हो। पूर्वानुमान अनुसार सूचनाको सम्प्रेषण पनि भएको थियो। त्यो सूचनालाई आगामी दिनमा थप व्यवस्थित गर्न जरुरी छ,’ उनले भने, ‘अर्को विपदको प्रतिकार्यको विषय हो। त्यसका लागि पूर्व तयारी नभएको होइन। सरकारले पूर्व तयारी गरेकाले नै क्षतिलाई न्यूनीकरण गर्नका लागि सहयोग पुगेको छ। आगामी दिनमा यसलाई थप व्यवस्थित गरेर जान जरुरी छ।’

 
नख्खु खोलामा केही मानिसका उद्धारबारे उठेको प्रश्नमा पनि गृहमन्त्री लेखकले उद्धार गर्न खोज्दा खोज्दै घटना भएको बताए । 

‘नख्खु खोलामा प्रहरी पुग्दै नपुगेको होइन। सेनाको हेलिकप्टर पनि त्यहाँ पुर्‍याउने कोसिस भएको हो। भिजिविलिटीका कारण सेनाको हेलिकप्टर जान सकेन। नेपाल प्रहरी र सशस्त्र प्रहरी गएका छन्। उद्धार गर्न गएका सशस्त्र प्रहरी बग्दा पौडेर उद्धार भएको छ। नख्खु खोलाको घटनामा उद्धार गर्न खोज्दा खोज्दै घटना भएका हो,’ उनले भने।

प्रतिक्रिया