बाढी पहिरो प्रभावितको खोज तथा उद्धार प्राथमिकता दिने सर्वदलीय बैठकको निर्णय

घरबास गुमाएकाहरुको पुनर्स्थापना गर्ने

काठमाडौ । लगातारको वर्षाले देशभर जनधनको क्षति गराएपछि सरकारले सर्वदलीय बैठक गरेर विभिन्न निर्णय गरेको छ। आइतबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले राखेको सर्वदलीय बैठकले बाढी पहिरोबाट प्रभावितहरूको खोज तथा उद्दारलाई पहिलो प्राथमिकतामा राखेर तत्काल उद्धार गरी उचित वासस्थान, खाना, पानी र अन्य राहत सामग्री उपलब्ध गराउने निर्णय गरेको छ । बैठकले गन्तव्यमा पुग्न नसकी फसेका यात्रुलाई जिल्ला व्यवस्थापन सिमिति, यातायात व्यवसायी संघ र प्रदेश व्यवस्थापन समिति र सुरक्षाकर्मीको संयुक्त पहलमा गन्तव्यमा पुर्‍याउने निर्णय भएको छ 

त्यस्तै बैठकले राजधानीलाई बाँकी भूभागसँग जोड्ने सबैजसो राजमार्गको अवरोध हटाई आवागमन सुचारु गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पहल गर्ने निर्णय पनि गरेको छ ।

ऊर्जा मन्त्रालयले क्षति ग्रस्त प्रसारण लाईन र विद्युत गृहहरुको मर्मत संभार गरी विद्युत आर्पूति, संचार मन्त्रालयले अवरुद्ध इन्टरनेट र टेलिफोन तथा खानेपानी मन्त्रालयले खानेपानी प्रणालीको मर्मत सम्भार गर्ने पनि बैठकको निर्णय छ ।

साथै खाद्यान्न, तरकारी, फलफूल, ग्यास लगायत अत्यावश्यक दैनिक उपभोग्यका सामानहरु सूपथ मूल्यमा सजिलैसँग प्राप्त गर्न सक्ने व्यवस्था मिलाउने पनि बैठकको निर्णय छ ।

बाढीका कारण क्षतिग्रस्त पूल, सडक, विद्यालय, स्वास्थ्य चौकी, सुरक्षा निकायको भवन, विद्युत संरचना लगायतको विवरण संकलन गरि पुनर्निर्माणका लागि आवश्यक प्रकृया अघि बढाउने पनि सर्वदलीय बैठकले निर्णय गरेको छ ।

बैठकले विपतको मसयमा सबै दल, तीनै तहको सरकार र निजी क्षेत्रको समन्वयात्मक एवं एकीकृत प्रयासमा उद्धार,राहत र पुनर्स्थापना गर्नुपर्नेमा जोड दिएको छ । साथै प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग गर्न निजी क्षेत्र, संघसंस्था र आम नागरिकलाई अपिल गर्ने निर्णय पनि सर्बदलीय बैठकले गरेको छ ।

गत बिहीबारदेखि परेको अविरल वर्षाले आइतबार अपराह्नसम्म १४८ जनाको मृत्यु भइसकेको छ, ५५ जना बेपत्ता छन्।

 

 

 

 

प्रतिक्रिया