हेलिकप्टर मार्फत १ सय ६१ जनाको सकुशल उद्धार

काठमाडौं । गृह मन्त्रालयले आइतबार बिहान सम्म नेपाली सेनाको हेलिकप्टर मार्फत बाढी पहिरो, डुबान तथा प्राकृतिक जोखिममा परेको एक सय ६१ जनाको सकुशल उद्धार गरेको जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव ऋषिराम तिवारीले  आइतबार बिहान सम्म काभ्रेपलाञ्चोकका विभिन्न पालिका बाट अहिले सम्म ८३ जनाको उद्धार गरी सुरक्षित स्थानमा सारिएको जानकारी दिए । 

शनिबार नै त्यहाँ हेलिकप्टर पठाइए पनि उद्धार गर्न सकिएको थिएन । काभे्रपलाञ्चोकमा अहिले नेपाली सेनाका तीन वटा हेलिकप्टरले उद्धार जारी राखेको छ । 

मन्त्रालयका अनुसार शनिबार काठमाडौंँ उपत्यकामा १३ जना, सिन्धुलीमा ३३ जना र मकवानपुरमा ३२ जनाको हेलिकप्टर मार्फत उद्धार गरिएको थियो । गृह मन्त्रालयका प्रवक्ता तिवारीले बाढी पहिरोका कारण अवरुद्ध राजमार्ग खुलाउन सबै संयन्त्र परिचालन गरिएको बताए । 

मन्त्रालयका अनुसार बाढी पहिरो र डुबान बाट हाल सम्म १ सय ३३ जनाको मृत्यु, ६४ जना बेपत्ता र ७३ जना घाइते भएका छन् ।  

गृहमन्त्री रमेश लेखकले सुरक्षा संयन्त्र र सरोकारवाला निकायलाई उद्धार, राहत, घाइतेको स्वास्थ्य उपचार र अवरुद्ध सडक यथाशीर्घ सञ्चालनमा ल्याउन तदारुकपताका साथ लाग्न निर्देशन दिएका छन् । 
 

प्रतिक्रिया