जलसतह घटे पछि कुलेखानी बाँधको ढोका बन्द

बागमती ।  मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी प्रथम जलविद्युत् आयोजनाको जलाशय (इन्द्रसरोवर ताल) को ढोका बन्द गरिएको छ । 

जलाशयमा क्षमता भन्दा बढी पानी भरिए पछि बाँधको सुरक्षाका लागि शनिबार बिहान आयोजनाको दुई ढोका खोलेर पानी बाहिर निकालिएको थियो । 

बाँध खोलेर जलाशयको पानीलाई निकाशा दिए पछि जलसतह केही घटेकाले आइतबार ढोका बन्द गरिएको कुलेखानी प्रथम जलविद्युत् आयोजनााका प्रमुख तारादत्त भट्टले जानकारी दिए । 

उनका अनुसार कुलेखानीको जलाशयमा कुल एक हजार पाँच सय ३० मिलिमिटर पानी भण्डारण गर्ने क्षमता भए पनि शनिबार एक हजार पाँच सय ३१ मिलिमिटर पानी भरिएर खतराको सङ्केत देखिए पछि दुई ढोका खोलिएको थियो । 

शनिबार साँझ देखि वर्षा रोकिएको भन्दै ढोका खोलेर पानी बाहिर निकालिएकाले जलाशयमा जलसतह घटेको प्रमुख भट्टले जानकारी दिए । उनका अनुसार अहिले जल विद्युत् उत्पादन पूर्ण क्षमतामा सञ्चालनमा ल्याइएको छ । 

यसै बीच वर्षा रोकिए पछि पहिरोका कारण अवरुद्ध भएको हेटौँडा–काठमाडौं र हेटौँडा–सिन्धुली जोड्ने सडकमा आइतबार बिहानै देखि पहिरो पन्छाउने काम सुरु भएको छ  । 

सडक विभाग र सुरक्षा निकायले हेटौँडा–काठमाडौं जोड्ने कान्ति लोकपथ र भिमफेदी–दक्षिणकाली खण्डमा बिहानै देखि पहिरो पन्छाउने काम गरिरहेका प्रमुख जिल्ला अधिकारी तिर्थराज चिलुवालले जानकारी दिए ।

त्यस्तै, मदन भण्डारी लोकमार्ग अन्तर्गत विभिन्न स्थानमा खसेको पहिरो पन्छाएर आवागमन नियमित सञ्चालन गर्ने प्रयास भइरहेको उनले बताए । 
रासस 

प्रतिक्रिया