माओवादी अध्यक्ष दाहाल द्वारा युद्धस्तरमा पुनःनिर्माणका काम थाल्न अनुरोध

काठमाडौं  ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिन यताको अविरल वर्षाका कारण भएको जनधनको क्षति प्रति गहिरो दुःख व्यक्त गर्दै बाढी पहिरोमा परी बेपत्ता भएकाहरूको खोजी, घाइतेहरूको निःशुल्क उपचार र विस्थापितहरूको पुनःस्थापनाका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । 

अध्यक्ष दाहालले आइतबार एक विज्ञप्ति जारी गरी विपद्मा परी एक सय जना भन्दा बढीको ज्यान गइसकेको, ठूलो सङ्ख्यामा बेपत्ता र घाइते भएका तथा हजारौं नागरिक घरवार विहीन भएका व्यक्तिका निजी सम्पत्ति देखि सार्वजनिक पूर्वाधारको क्षेत्रमा ठूलो क्षति भएको उल्लेख गरेका छन् । उहाले राष्ट्र र जनताले भोग्नुपरेको यो क्षति र पीडाप्रति आफू र पार्टीका तर्फ बाट गहिरो दुःख व्यक्त गर्दै मृतक प्रति भावपूर्ण श्रद्धाञ्जली घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । 

“अहिले पनि ठूलो सङ्ख्यामा नागरिक बेपत्ता भएकाले उनीहरूको खोजी गर्नु, घाइतेहरूको उपचार गर्नु, घरबारविहीन भएकाहरूलाई सुरक्षित गर्दै पुनःस्थापनाको काम सुरु गर्नु पहिलो कर्तव्य हो”, अध्यक्ष दाहालले भने, “अहिले पनि विभिन्न स्थानमा मुख्य राजमार्ग सहित सडक, सञ्चार र विद्युतका  पूर्वाधार क्षतिग्रस्त अवस्थामा छन् । नेपालीहरूका मुख्य पर्व दशैं तिहार नजिकिएकाले युद्धस्तरमा पुनःनिर्माणका काम थालेर सबै आधारभूत सेवा पूर्ववत रुपमा सञ्चालनका लागि तत्काल पहल अघि बढाउन सरकारको ध्यानाकर्षण गराउँदछु ।”

उनले आफ्नो पार्टीका सम्बन्धित क्षेत्रमा रहेका सबै नेता कार्यकर्ता साथीहरु उद्धार र पुनःस्थापनाको काममा लागिरहेको बताएका छन् । साथै अध्यक्ष दाहालले उनलाई बेपत्ता नगारिकको खोजी, विस्थापितहरुको पुनःस्थापना, क्षतिग्रस्त संरचनाको पुनःनिर्माणमा लाग्न निर्देशन दिएका छन् । 

यसै बीच अध्यक्ष दाहालले आह्वान गरेका सर्वदलीय बैठक रद्द भएको उनको सचिवालयले जनाएको छ । सरकारले सर्वदलीय बैठक आह्वान गरिसकेको सन्दर्भमा पार्टीका तर्फ बाट आह्वान गरिएको सोही प्रकृतिको बैठकको सान्दर्भिकता नरहेकाले त्यो रद्द भएको हो ।

रासस
 

प्रतिक्रिया