देशका विभिन्न सडक खण्डका ६८ स्थानमा पहिरो, यातायात ठप्प

काठमाडौं । देशभरका विभिन्न सडक खण्डका ६८ स्थानमा पहिरो खसेर यातायात ठप्प भएको छ । 

ठाउँ ठाउँमा पहिरो खसेका कारण ती सडक खण्डमा यातायात सञ्चालनमा आउन सकेको छैन । सबै भन्दा बढी पहिरो नौबिसे देखि मुग्लिन सम्मको सडक खण्डमा छ । यही सडकमा पर्ने झ्याप्ले खोलामा पहिरो खस्दा केही यात्रुवाहक सवारी पुरिएर मानवीय क्षति समेत भएको छ । 

नौबिसे–मुग्लिन सडकको मझिमटार, मौवाखोला, घोप्टेभिरमा पहिरो खसेर यातायात ठप्प बनेको छ । नागढुंगा सुरुङमार्गको मुखैमा लेदोसहित पहिरो खस्दा यातायात ठप्प छन् । अर्को बढी समस्या भएको मध्यपहाडी राजमार्गको सिन्धुली खण्ड हो । यो राजमार्गको आधा दर्जन भन्दा बढी स्थानमा पहिरो गएर सडक ठप्प छ । 

अक्करे भीर, हर्जेनी, बलेनी, सालघारी, ल्याउखोला, फिक्कल, मंगलटार, रिट्ठाबोट खण्डमा गाडी चल्न नसकेको सडक विभागले जनाएको छ ।  यता बि.पी. राजमार्गको नेपालथोक खण्डमा पहिरो खसेर सडक अवरुद्ध छ । काठमाडौं जोड्ने नागढुंगा–नौबिसे, दक्षिणकाली–सिस्नेरी–भीमफेदी, अरनिको राजमार्गको विभिन्न खण्डमा पहिरो खसेर यातायात ठप्प रहेको छ ।  

बि.पी राजमार्गको मंगलटारमा करिब २ सय मिटर सडक खोलाले बगाएकाले उक्त खण्डमा यातायात ठप्प छ । मध्यपहाडी राजमार्गमै पर्ने खोटाङको खोक्सेली र चिसापानीमा पनि पहिरो खसेर सडक ठप्प छ । 

मेची राजमार्गको हेवाखोला र अरनिको राजमार्गको लार्चाको बेलिब्रिज बाढीले बगाउँदा आवागमन अवरुद्ध भएको भौतिक मन्त्रालयले जनाएको छ । कान्ति राजपथ अन्तर्गत मकवानपुरको बगुवा र ललितपुरको माल्टा जोड्ने वागमती नदीको पक्की पुल पनि बाढीले बगाएको छ । 

दोलखा र रामेछापलाई तराईका जिल्ला सँग जोड्ने लाइफ लाइनको रूपमा रहेको सिन्धुली खुर्कोटस्थित सुनकोशी नदी पुलको बायाँ तर्फको स्पान पूर्ण रूपमा क्षति भएको मन्त्रालयले बताएको छ । 

प्रतिक्रिया