सप्तकोशीमा पानीको बहाव ५६ वर्ष यताकै बढी

सुनसरी । सप्तकोशी नदीमा पानीको बहाव ५६ वर्षयताकै उच्च रहेको छ । 

आइतबार बिहान ३ बजे गरेको मापन अनुसार कोशी ब्यारेज भएर सप्तकोशीको बहाव प्रतिसेकेन्ड ६ लाख ४३ हजार पाँच सय ४० क्युसेक रहेको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । 

यस अघि कोशी ब्यारेज भएर अहिले सम्मकै बढी सन् १९६८ अक्टोबर ५ तारिखमा पानीको बहाव प्रतिसेकेन्ड सात लाख ८८ हजार दुई सय क्युसेक मापन गरिएको थियो । शनिबार बेलुका साढे १० बजे सप्तकोशीको पानीको बहाव प्रतिसेकेण्ड ६ लाख २० हजार क्युसेक मापन गरिएको थियो ।

कोशी ब्यारेज कन्ट्रोल रुमले शनिबार राति ११ बजे दिएको जानकारी अनुसार जलसतह खतरा तह भन्दा ११ दशमलव २६ मिटर माथि पुगिसकेको र अझ बढ्ने क्रममा रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको जनाएको छ । पानीको बहाव बढ्दै गए पछि कोशी ब्यारेजको सबै ५६ ढोका खोलिएका छन् । 

सप्तकोशी नदी जलसतह खतरा तह भन्दा  माथि पुगेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तरीका बाढी बाट कटान हुन सक्ने क्षेत्र तथा डुबान हुने होचा भू-भागमा नबस्न र उच्च सतर्कताका साथ सुरक्षित स्थानमा जान सप्तकोशी चतरा जलमापन केन्द्रले सूचना जारी गरेको छ । 

लगातार पानीको बहाव बढ्दै गए पछि कोशी ब्यारेज भएर मानिस र सवारीसाधनलाई अर्को सूचना जारी नहुञ्जेल सम्मका लागि आवागमन बन्द गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिएका छन् । 

शनिबार बिहान ६ बजे कोशी ब्यारेज कन्ट्रोल रुमले प्रतिसेकेन्ड तीन लाख ३६ हजार १० क्युसेक पानीको बहाव मापन गरेको थियो । नदीमा पानीको बहाव बढेर शनिबार साँझ ८ बजे प्रतिसेकेन्ड चार लाख १८ हजार दुई सय ८५ क्युसेक, शनिबार राति १२ बजे प्रति सेकेन्ड पाँच लाख सात हजार ६ सय ९० क्युसेक तथा आइतबार बिहान २  बजे प्रतिसेकेन्ड ६ लाख ३२ हजार २८५ क्युसेक पानीको बहाव मापन गरेको थियो ।
रासस
 

प्रतिक्रिया