विभिन्न विपद्मा परि गत बर्ष देशभर ४ सय ७१ जनाको मृत्यु

गत आर्थिक वर्ष २०७९/०८० मा विपद्का घटनामा परी देशभर ४ सय ७१ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार २०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको अवधिमा रेकर्ड भएका पाँच हजार पाँच सय तीन घटनामा परी उनीहरूको मृत्यु भएको हो । बाढी, पहिरो, आगलागी, हिँउ पहिरो, भारी वर्षा, चट्याङ, डुंगा दुर्घटना, जनावरको आक्रमण लगायतका घटनामा उक्त मानविय क्षति भएको हो । विपद्का घटनामा परी उक्त अवधिमा ६० जना बेपत्ता भएका थिए भने एक हजार १ सय ४६ जना घाइते भएका थिए । विपद्का घटनाबाट पछिल्लो एक वर्षमा १० हजार ३ सय ८० परिवार प्रत्यक्ष प्रभावित भएका थिए । विपद्का घटनाले उक्त समयमा एक हजार ९ सय ६२ घरमा आंशिक क्षति र दुई हजार ३ सय २६ घर पूर्ण क्षति भएको केन्द्रले जनाएको छ । यस्तै, विपद्का घटनाले ९ सय ४४ गोठमा क्षति भएको छ ।  चार हजार ४१ जनावरको मृत्यु भएको तथ्यांकले देखाएको छ । विपद्का घटनाले गत आर्थिक वर्ष दुई अर्ब ९८ करोड ९४ लाख ६१ हजार १ सय ५० रुपैयाँ बराबरको आर्थिक क्षति गरेको केन्द्रले जनाएको छ । अघिल्लो आर्थिक वर्ष २०७८÷०७९ को सोही अवधिमा विपद्का घटनामा परी ४ सय ८९ जनाको मृत्यु, ४२ जना बेपत्ता र एक हजार ७ सय ६९ जना घाइते भएका थिए । विपद्का घटनाले पाँच हजार ९८३ परिवार प्रभावित भएका थिए । अघिल्लो आर्थिक वर्षमा विपद्का घटनाले दुई अर्ब ७३ करोड ३० लाख ३१ हजार ५ सय ४४ रुपैयाँ बराबरको आर्थिक क्षति गरेको थियो ।। 
 

प्रतिक्रिया