सुन तस्करीबारे छानविन गर्न छानविन समिति गठन

जाँचपासमा सग्लन कर्मचारी निलम्बनमा

भन्सार विभागले अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएको ठूलो परिणामको सुन ट्याक्सीबाट जफत भएपछि छानबिन समिति बनाएको छ । विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा छानबिन समित गठन भएको हो । समितिले विमानस्थलको भन्सार जाँचपासमा क–कसको संलग्नता भएको भन्नेबारे अनुसन्धान गर्ने जिम्मेबारी पाएको छ । समितिले भन्सार अधिकृतलगायत अन्य कर्मचारीहरूको संलग्नताबारे पनि छानबिन गर्न लागेको हो । समितिले  विमानस्थलमा रहेका सिसिटिभी फुटेजमा पनि हेर्ने बताइएको छ । यसैविच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको गेटबाट बरामद भएको सुनको जाँचपासमा संलग्न भन्सार कार्यालयका कर्मचारी निलम्बित भएका छन् । विभागले अनुसन्धानका लागि भन्दै उनीहरुलाई निलम्बन गरेको हो । विभागका अनुसार सुन मोरेर ल्याइएको मोटरसाइकलको स्पेयर पार्टस् ‘डिस्क ब्रेक सु’ जाँचपासमा संलग्न तथा त्यतिबेला ड्युटीमा रहेका र हस्ताक्षर गर्ने कर्मचारीलाई निलम्बन गरिएको हो । यसैविच त्रिभुवन विमानस्थल बाहिरबाट राजस्व अनुसन्धान विभागले समाएको सुनको सुराकी दिनेले १० करोड रुपैयाँ पाउने भएका छन् । एक अर्बभन्दा बढी मूल्यको सुन भएको प्रारम्भिक अनुमान अनुसार सुराकी दिनेले सो रकम पाउने देखिएको हो । पहिले सुराकी दिनेलाई १० लाख रुपैयाँ कमिसन दिने नियम थियो । तर चालु आर्थिक वर्षको बजेटबाट त्यो व्यवस्थालाई संशोधन गरेर पक्राउ परेको सामानको १० प्रतिशत पाउने व्यवस्था गरिएको छ । त्यसो हुँदा सुराकीले करिब १० करोड रुपैयाँ पाउने सम्भावना रहेको छ ।

प्रतिक्रिया