पहिराले अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालन अझै अनिश्चित

धादिङ ।  पूर्वपश्चिमका जिल्लाबाट राजधानी काठमाडौं प्रवेश गर्ने नौबिसे नागढुङ्गा सडक बिहीबार साँझदेखि अविरल वर्षाका कारण अवरुद्ध छ । निरन्तरको वर्षा, पहिरो र लेदो माटोले राजमार्गको नौबिसे मुग्लिन खण्ड झण्डै ३० घण्टादेखि अवरुद्ध छ ।

पहिराले ठाउँ ठाउँमा सडक थुनिएको छ भने राजमार्ग विस्तारको क्रममा खारिएका भित्ताबाट झरेका स–साना पहिरा, खोला खोल्साबाट उर्लिएको भलसँगै झरेको गेग्य्रान पनि राजमार्गमै थुप्रिएको छ ।

धादिङ र काठमाडौंको सीमाक्षेत्रमा पर्ने खत्रीपौवामा शनिबार बिहानै पहिरोमा पुरिएको तीनवटा सवारीसाधन अझै निकाल्न सकिएको छैन । पहिरो ठूलो भएकोले सवारी पुरिएको ठाउँसम्म पुग्न नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए । 

वर्षात र पहिराले बिजुली र इन्टरनेटको टावरमा क्षति पुगेकोले टेलिफोन र प्रहरीको सेटसमेतले काम नगर्दा रिपोर्टिङमा प्रहरीलाई नै समस्या परेको प्रहरी उपरीक्षक मिश्रले जानकारी दिए । 

नौबिसे नागढुङ्गा खण्डको खत्रीपौवाबाहेक पृथ्वी राजमार्ग अन्तर्गत सोही खण्डका ठाउँ ठाउँमा पहिरो झरेको छ । थाक्रे गाउँपालिकाको सात किलो, खयरघारी र बेनिघाट गाउँपालिका–३ सलाङ्घाटमा सबैभन्दा ठूलो पहिरो छ ।गल्छी र गजुरीको माथिल्लो क्षेत्र र बेनिघाटको जोगिमारा क्षेत्रमा स–साना धेरै पहिरा गएका छन् । आज अपरान्हदेखि वर्षात् केही कम भए पनि ठाउँ ठाउँमा पहिरो खस्ने क्रम नरोकिएकाले राजमार्ग सञ्चालन गराउन कठिन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं प्रवक्ता प्रल्हाद सिलवालले जानकारी दिए । 

पहिरोले शनिबार बिहानैदेखि अवरुद्ध धादिङबेसी मलेखु सडकखण्ड भने एकतर्फी खुलेको छ । यहाँ १७ किलोमिटर दुरीमा ६ स्थानमा पहिरो गएको थियो । अहिले सबै स्थानबाट एकतर्फी सवारी चल्नेगरी पहिरो पन्छाइएको छ ।  नीलकण्ठ नगरपालिका–८ र सिद्दलेक गाउँपालिका–१ को ठाउँ ठाउँमा पहिरोको जोखिम रहेको प्रहरीले जनाएको छ । पृथ्वी राजमार्गमा दैनिक १३ हजारभन्दा बढी गाडी ओहोरदोहोर गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीको तथ्याङ् छ 

प्रतिक्रिया