लुम्बिनी प्रदेशका  विभिन्न स्थानका सडक अवरुद्ध

लुम्बिनी । अविरल वर्षाका कारण लुम्बिनी प्रदेशका विभिन्न जिल्ला जोड्ने विभिन्न स्थानका सडकमा यातायात सेवा प्रभावित बनेका छन् ।

पहिरोका कारण अवरद्ध सडक खुलाउन सुरक्षाकर्मी र स्वयंमसेवक परिचालन भएको लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ ।

प्रदेशको प्यूठान–भालुबाङ सडक खण्डको माण्डवी गाउँपालिका–१ गर्जेनीस्थित सिमलचौर, यस्तै सरुमारानी गाउँपालिका–४ पाखुरी खोलामा पहिरो झरेको छ । नौवहीनी गाउँपालिका––७ कालीमाटीस्थित मैरामारेदेखि बल्लेखोला जाने भित्री सडकमा पहिरो झरेको छ । 

अर्घाखाँचीस्थित पाणीनी गाउँपालिका–२ सालझण्डी ढोरपाटन सडक, गोरुसिङ्गे–सन्धिखर्क सडक दुई स्थानमा पहिरो झरेको छ । रोल्पाको सहिद मार्गको तीन स्थानमा पहिरो झरेको छ । पाल्पा जिल्लाको सिद्धार्थ राजमार्ग, दाङ सल्यान राप्ती राजमार्ग, घोराही लमही–सडक खण्डको सेवार खोलामा जलसतह बढेकाले आवागमनमा समस्या परेको छ । पहाडी जिल्ला अर्घाखाँचीका केही स्थानमा पहिरोका कारण बस्ती जोखिममा परेपछी सुरक्षित स्थानमा सारिएको छ ।

सन्धिखर्क–११ धारामाथी वस्ने जुद्धबहादुर नेपालीको घर अविरल वर्षाको कारण जोखिममा परेपछि परिवारका सदस्यलाई सुरक्षित स्थानमा सारिकएको छ । शीतगङ्गा नगरपालिका–७ जुवाकोट बस्ने दिलबहादुर सार्कीको टिनले छाएको दुई तले कच्चीघर छेउमा जमिन भासिनुका साथै घरमा क्षति पुगेको छ । आठ जनाको परिवारलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

यसैबीच लुम्बिनी प्रदेश सरकारले विपद् प्रतिकार्य योजनामा जुट्न आग्रह गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले अविरल वर्षाका कारण संभावित  विपद्को प्रतिकार्यमा जुट्न अपिल गर्नु भएको हो । तीन वटै सुरक्षा निकाय, नागरिक स्वंयमसेवक तथा युवा वर्ग विपद् प्रतिकार्यमा खटिएको र सहयोग गर्न अपिल गरेका छन् ।

लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको हालसम्म बाढीका २८ घटना घटेका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार परेर नौ जनाको मृत्यु भएको छ भने चार जना घाइते र आठ जना बेपत्ता छन् । पहिरोका २१ वटा घटना घटेका छन् । जसमा परेर आठ जनाको मृत्यु भएको छ, भने ६ जना घाइते भएका छन् । मानव सिर्जित विपद्का घटनाले मानवीय क्षति बढी गराएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव राजेन्द्रप्रसाद पन्थीले बताए । 
 

प्रतिक्रिया