अविरल वर्षाका कारण देशभरका विद्युत आपूर्ति प्रभावित

काठमाडौं अविरल वर्षाले विद्युत् आपूर्ति प्रणालीमा अवरोध हुँदा काठमाडौंसहित मुलुकका अधिकांश स्थानमा विद्युत काटिएको छ । वर्षाले विद्युत प्रसारण तथा वितरण प्रणालीको पूर्वाधारमा क्षति पुर्‍याउँदा आपूर्ति प्रभावित भएको हो । 

नेपाल विद्युत प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषका अनुसार काठमाडौं‌ उपत्यकाको आधा क्षेत्रमा विद्युत आपूर्ति प्रभावित भएको छ । उपत्यकामा विद्युत माग सामान्य अवस्थामा करिब चार सय मेगावाट हुने गरेकामा शनिबार दुई सय मेगावाटको हाराहारीमा मात्रै रहेको उनले बताए । 

बानेश्वर सबस्टेसनबाट ललितपुरको गोदावरी, इमाडोल, लुभु च्यासल क्षेत्रमा विद्युत् आपूर्ति भएका ‘फिडर’समेत प्रभावित भएका छन् । भक्तपुर सबस्टेसनबाट खोपासी, नलिनचोक र बोडे खानेपानीलाई विद्युत आपूर्ति दिइएका फिडर बन्द छन् । त्यस्तै पाटन सबस्टेसनबाट विद्युत आपूर्ति दिइएका खुमलटार, इमाडोल, सातदोबाटो, गोदावरी, हात्तीवन, चापागाउँ, खोकना, चक्रपथ, हरिसिद्धी, रेडियो नेपाल र लुभु फिडर बन्द भएका प्रवक्ता घोषले जानकारी दिए ।  

लैनचौर सबस्टेसनबाट विद्युत आपूर्ति दिइएको गैह्रिधारा, टेकु सबस्टेसनबाट आपूर्ति दिइएका कीर्तिपुर, बागमती, ताहाचल, सुन्धारा, कालीमाटी, चक्रपथ र चमती, नयाँ चाबहिल सबस्टेसनबाट आपूर्ति भइरहेका हाँडीगाउँ तथा कालोपुल र स्यूचाटार सबस्टेसनबाट आपूर्ति भइरहेका कलङ्की, बलम्बु रोपवे फिडर प्रभावित भएका छन् । 

प्राधिकरणका प्रवक्ता घोषले  विद्युत पूर्ति यथाशीघ्र सञ्चालनमा ल्याउन प्राधिकरणको टोली खटिएको जानकारी दिंए। धेरै ठाउँ जलमग्न भएका तथा नदीहरुमा जलसतह बढेकाले लाइन सञ्चालनमा असहज भइरहेको उनले बताए  । साथै देशका अन्य स्थानमा पनि बिजुली आपूर्तिमा कठिनाइ उत्पन्न भएको प्राधिकरणले जनाएको छ । 

प्रतिक्रिया