कुलेखानी जलाशयमा पानीको सतह घट्न थाल्यो

बागमती ।  कुलेखानी प्रथम जलविद्युत् केन्द्रको जलाशय (इन्दसरोवर ताल) मा पछिल्लो समय पानीको सतह घट्न थालेको छ ।

जलाशयमा क्षमता भन्दा बढी पानी भरिएर ‘ओभरफ्लो’ भए पछि बाँधको सुरक्षालाई मध्यदिँदै आज बिहान करिब ५ बजेतिर ड्यामको दुई ढोका खोलिएको थियो । कुलेखानी प्रथम जलविद्युत् केन्द्रका प्रमुख तारादत्त भट्टले जलाशयमा पानीको सतह केही घटेको जानकारी दिए ।  

उनका अनुसार कुलेखानीको जलाशयमा कूल एक हजार पाँच सय ३० मिटर पानी भण्डारण गर्ने क्षमता भए पनि आज बिहान ४ बजेतिर जलाशयमा एक हजार पाँच सय ३१ मिटर पानी भरिएरको थियो ।  पानी भरिएर खतराको सङ्केत देखिए पछि दुई  ढोका ४ दशमल ५ मिटर खोलिएको थियो । 

ड्यामको दुई  ढोका खोलिए पछि अहिले सम्म जलसतह घटेर एक हजार पाँच सय ३० दशमलव १० मिटरमा आइपुगेको प्रमुख भट्टले बताए । वर्षा अझै जारी रहेकोले जलाशयको ढोका खोलिएको र जलविद्युत् उत्पादन केन्द्र पूर्ण क्षमतामा सञ्चालनमा ल्याइएको उनले जानकारी दिए । 

यसै बीच जिल्ला प्रशासन कार्यालय मकवानपुरले निरन्तर वर्षा भइरहेकाले जोखिमको आधारमा थप कुलेखानीको जलाशयको ड्यामका ढोका अझै खोल्नुपर्ने अवस्था देखिन सक्ने भएकाले कुलेखानी बाँध देखि तल सिस्नेरी हुँदै बागमती नदी किनारका बस्तीमा बाढी आउन सक्ने अवस्था देखिएको हुँदा कुलेखानी देखि तलका तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । 

सम्बन्धित पालिकाका स्थानीय विपद् व्यवस्थापन समितिलाई समेत उच्च सतर्क र सुरक्षित स्थानको पूर्वतयारी गर्न आग्रह  गर्दै प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले निरन्तरको भारी वर्षाका कारण विभिन्न क्षेत्रमा आउन सक्ने बाढीपहिरो, डुवान लगायतका अवस्थालाई मध्यनजर गरी जिल्लास्थित सबै सुरक्षा निकायलाई उच्च सतर्क अवस्था रहन लगाइएको जानकारी दिए । साथै जिल्ला विपद् व्यवस्थापन समिति र जिल्ला प्रशासन कार्यालय, मकवानपुर बाट व्यवस्थापनको कार्यको लागि आवश्यक तयारी समेत गरिएको उनले बताए । 
रासस 

प्रतिक्रिया