प्रधानमन्त्री ओलीको उपस्थितिमा मातृ-शिशु स्वास्थ्यमा सहकार्य सम्बन्धी सम्झौता

अमेरिका । प्रधानमन्त्री के.पी. शर्मा ओलीको उपस्थितिमा नेपालको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र संयुक्त राज्य अमेरिकाको वन वर्नहार्ट वर्ल्डवाइड बीच मातृ–शिशु स्वास्थ्यमा सहकार्य गर्ने विषयमा सहमति भएको छ ।

संयुक्त राष्ट्रसङ्घको ७९औं महासभामा भाग लिएर आज अमेरिकाको न्युयोर्क बाट बोस्टन आइपुगेका प्रधानमन्त्री ओलीले हावर्ड विश्वविद्यालयमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गरेपश्चात् उक्त सम्झौता भएको हो । सम्झौता अनुसार मातृ–शिशु स्वास्थ्यमा प्रतिष्ठान मार्फत योगदान गर्न ग्रामीण स्वास्थ्य फेलोसिप लगायतका कार्यक्रममा सहकार्य गर्ने उल्लेख छ । 

यस्तै,धनयोगा फाउण्डेशन  र प्रतिष्ठान बीच पनि सम्झौता भएको छ । सम्झौता अनुसार प्रतिष्ठानले डाइबिटिज केन्द्र स्थापना गर्ने सहमति भएको छ । सम्झौतामा वर्नहार्टका तर्फबाट डा. क्रिस्टिना भे सेन्गर र प्रतिष्ठानका तर्फ बाट डा. मङ्गल रावल बीच हस्ताक्षर भएको हो । 

हावर्ड विश्वविद्यालयमा नेपालको कार्यकारी प्रमुखको पहिलो पटक भ्रमण र सम्बोधन भएको हो । सम्बोधन पछि नेपाली समुदायका चिकित्सक सँग अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले नेपालको स्वास्थ्य क्षेत्रमा सुधारका साथै निरोगी नेपाल अभियानलाई सघाउन आग्रह गरे ।

उनले प्रतिभा पलायनको अवस्था अन्त्य गर्न सरकार तत्पर रहेको र चिकित्सकलाई सके सम्म नेपाल फर्कन र नसके पनि विदेशमै रहेर स्वदेशमा सेवा दिन आग्रह गरे । उनले  आधुनिक चिकित्सा पद्धतिको विकास हुनुपूर्व नेपालको परमपरागत चिकित्सा पद्धति प्रभावशाली रहेको तथ्य औँल्याउँदै नयाँ नयाँ अनुसन्धान र उपचार पद्धतिलाई नेपालमा भित्र्याउन सहयोग गर्न आग्रह गरे ।
     
विश्वविद्यालयको अन्तर्राष्ट्रिय विकास प्रमुख प्रा. डा. माइकल फ्युटले नेपालको प्रधानमन्त्री विश्वविद्यालयमा पहिलो पटक आइपुग्दा आफूहरुमा पनि उत्साह पैदा भएको बताए । 
रासस 

प्रतिक्रिया