मकवानपुरको सिस्नेरीमा बाढीले ३० घर बगायो, खानीखेतका २८ घर डुबानमा

मकवानपुर । अविरल वर्षाका कारण आएको बाढीले इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी बजारका ३० वटा घरटहरा बगाएको छ । 

सिस्नेरी प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक भोजराज न्यौपानेले इलाका प्रहरी कार्यालय भवन सहित घर बगाएको जानकारी दिएका छन् । 
    
बाढीका कारण इन्द्रसरोवर गाउँपालिका–२ खानीखेतस्थित २८ घर डुबानमा परेका छन् । अविरल वर्षाका कारण कुलेखानी जलाशय भरिए पछि आज विहान बाँधका दुई वटा ढोका खोलिएको थियो । 

विभिन्न खोलामा जलसतह बढेको र कुलेखानी जलाशयका कारण बाढी आएको प्रहरीले जनाएको छ । बाढी तथा डुबनका कारण मानवीय क्षति भने नभएको सिस्नेरी प्रहरीले जनाएको छ । स्थानीयलाई सुरक्षित स्थानमा राखिएको छ ।  

अविरल वर्षाका कारण पहिरो जाँदा हेटौँडा–काठमाडौं सडक अवरुद्ध भएको छ । पहिरोका कारण कान्तिलोकपथ, भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौं, कुलेखानी–फाखेल–काठमाडौं, कुलेखानी–मातातीर्थ–काठमाडौं र त्रिभुवन राजपथ अवरुद्ध भएको मकवानपुर प्रहरीले जनाएको छ ।

स्थानीय तह, सडक विभाग सँगको समन्वयमा पहिरो पन्छाउने काम भइरहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले बताए । साथै निरन्तरको भारी वर्षाका कारण विभिन्न क्षेत्रमा आउन सक्ने बाढी, पहिरो, डुबन लगायतको अवस्थालाई मध्यनजर गरी जिल्ला स्थित सबै सुरक्षा निकायलाई उच्च सतर्क अवस्थामा राखिएको उनले बताए । 
रासस 

प्रतिक्रिया