तम्घास–रिडी सडक र कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी ।  अविरल वर्षाका कारण तम्घास–रिडी र रिडी–रुद्रबेणी–वामीटक्सार सडकखण्ड अवरुद्ध बनेको छ । 

तम्घास–रिडी सडकखण्ड अन्तर्गत रेसुङ्गा नगरपालिका–११ उर्लेनी, गुल्मीदरबार गाउँपालिका–४ को वीरबास र छत्रकोट गाउँपालिका–३ को लुम्छामा सडक माथि बाट पहिरो खसे पछि गए राति देखि सडक अवरुद्ध बनेको हो । 

त्यसैगरी रिडी–रुद्रबेणी–वामीटक्सार सडकखण्डमा पर्ने सत्यवती गाउँपालिका–६ स्थित डहरे खोलामा जलसतह बढेको र चन्द्रकोट गाउँपालिका–८ को मजुवा बजार नजिकै बाघ खोलामा सडक माथि बाट पहिरो खसे पछि शुक्रबार बेलुकी देखि सडक समेत अवरुद्ध बनेको हो । 
    
साथै कालीगण्डकी करिडोर सडक अन्तर्गत कालीगण्डकी गाउँपालिका–४ पूर्तिघाटमा सडक माथि बाट पहिरो खसेपछि गए राति देखि सडक पूर्ण रुपमा अवरुद्ध बनेको हो । सडक अवरुद्ध भए पछि सदरमुकाम तम्घास, वामीटक्सार र कालीगण्डकीको पूर्तिघाटदेखि पाल्पा, बुटवल र काठमाडौं सम्म छुट्ने लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालनमा आउन सकेका छैनन् । हाल सडक सञ्चालनका लागि पहल भइरहेको गुल्मीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए । 
रासस 

प्रतिक्रिया