पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

स्याङ्जा । अविरल वर्षा सँगै आएको पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । 

बिहीबार देखिको निरन्तर वर्षाले ठाउँ ठाउँमा पहिरो जाँदा सिद्धार्थ राजमार्गको वालिङ–पाल्पा सडकखण्ड अवरुद्ध भएको हो । गएराति वालिङ नगरपालिकाको बाँयटारी तथा गल्याङ नगरपालिका विभिन्न ठाउँमा पहिरो जाँदा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको वडा प्रहरी कार्यालय वालिङका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।
    
राजमार्ग अवरुद्ध भए पछि अहिले सडक विभागको डोजरले पहिरो पन्छाउने काम सुरु गरेको छ । बाँयटारीमा पहिरो हटाउने कार्य जारी छ । वालिङ देखि राम्दी सम्मको सडक खण्डमा पाँच छ ठाउँमा पहिरो गई सडक अवरुद्ध भएकाले हटाउन केही समय लाग्ने जनाइएको छ । 

पहिरोका कारण बुटवल–पाल्पा हुँदै स्याङ्जा प्रवेश गर्ने सवारीसाधन रोकिएका छन् । वालिङबाट पाल्पा, बुटवलतर्फ जाने सवारी साधन तथा यात्रुहरु बीच बाटोमै अलपत्र परेका छन् ।

अविरल वर्षाका कारण स्याङ्जा र पर्वतको दक्षिण भेग जोड्ने सडक अवरुद्ध भएको छ । उक्त सडकका विभिन्न ठाउँमा पहिरो जाँदा सवारीसाधन रोकिएको  जनाइएको छ । 

त्यस्तै, वालिङ–चापाकोट सडक खण्डमा पहिरो जाँदा सवारीसाधन सञ्चालन हुन सकेका छैनन् भने गल्याङ–चापाकोट सडकखण्ड पनि सञ्चालन हुन सकेको छैन ।
रासस 

प्रतिक्रिया