बाढीपहिरोमा परी देशका विभिन्न स्थानमा ६ जनाको मृत्यु

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हाल सम्म छ जनाको मृत्यु भएको छ । 

बाढीपहिरो लगायत विपद्मा परी ७ जना घाइते र सात जना बेपत्ता भएका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । 

पहिरोबाट पाँचथर, धनकुटा, काभ्रेपलाञ्चोक र ललितपुर लगायत जिल्लामा केही घर पुरिँदा मानवीय क्षति भएको छ । क्षतिको पूरा विवरण आउन बाँकी छ ।
     
बाढी पहिरामा बेपत्ता भएकाको खोजी जारी छ । पछिल्लो विपद बाट करिब चार सय नागरिक विस्थापित भएका र विस्थापितलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको उनले बताए ।  उद्धार गरिएका नागरिकको व्यवस्थापनमा तदारुकताका साथ काम भइरहेको छ ।
 
प्रहरी प्रवक्ता कार्कीका अनुसार एक सय ५० भन्दा बढी स्थानमा बाढी पहिरालगायत विपद्का घटना भएका छन् । २८ स्थानमा प्रायः सबै राजमार्ग, मुख्य सडक मार्गहरु अवरुद्ध छन् । अवरुद्ध सडक खुलाउन सबै निकाय सँग समन्वय भइरहेको प्रहरी नायब महानिरीक्षक कार्कीले बताए । 
 
काठमाडौंको नदी करिडोरका सडक बन्द

काठमाडौंको वागमती, विष्णुमति, हनुमन्ते लगायत खोलामा जलसतह बढेपछि करिडोरका सडक प्रायः बन्द भएका छन् । सबै खोलामा करिडोर सडकमा पानी उक्लने अवस्था बनेको छ ।
 
प्रहरीले नदी करिडोर तथा डुबान हुनसक्ने सबै क्षेत्रमा सचेत गराएको प्रवक्ता कार्कीले जानकारी दिए । “नेपाल प्रहरीका टोली देश भरि नै परिचालित भएका छन्, प्रहरीको सम्पूर्ण ध्यान अलिहेको विपद बाट हुनसक्ने जनधनको क्षतिलाई न्यूनीकरण गर्नेमा केन्द्रित छ”,उनले भने।
 
मुलुकभर निरन्तर वर्षाको अवस्था रहेको छ । जल तथा मौसम विज्ञान विभागले भोलि सम्म अविरल वर्षा हुने पूर्वानुमान गरेको छ ।
रासस 

प्रतिक्रिया