त्रिशूली नदीले २ वटा एक्साभेटर र ३ वटा टिप्पर बगायो

गोरखा । त्रिशूली नदीमा आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–१, बुट्टार र चितवनको इच्छाकामना गाउँपालिका–३, चुमखोलाको सिमानामा निर्माणाधीन सुपर त्रिशूली जलविद्युत् आयोजनाको एक्साभेटर र टिप्पर बगाएको छ ।  

केही दिन देखि परेको अविरल वर्षाका कारण नदीमा आएको भीषण बाढीले शुक्रबार राति करिब १० बजे आयोजनाको तीन वटा टिप्पर र दुई वटा एक्साभेटर बगाएको सशस्त्र प्रहरी बलका केन्द्रीय सह–प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए । 

बाढीले नदीको बीच भागमा रहेको मेसिन तथा टिप्पर बगाएको आयोजनाका कर्मचारी सङ्गम मग्रातीले जानकारी दिए । “साँझतिर एउटा एक्साभेटर र एउटा टिप्पर बगाएको थियो,” उनले भने, “सोही ठाउँमा रहेका थप एउटा एक्साभेटर र दुई वटा टिप्पर पनि राति करिब १० बजे त्रिशूली नदीमा आएको बाढीले बगाएको छ ।”

नदीमा भीषण बाढी आएपछि दिउँसो देखि नै आयोजनाको तीन वटा टिप्पर, दई वटा एक्साभेटर नदीको बीचमा फसेको थियो । नदीको मध्य भागमा फसेको मेसिन निकाल्ने प्रयास गरिएको भए पनि नसकिएकोउनको भनाइ छ । 

ब्लू इनर्जी कम्पनीले बुट्टारमा १०० मेगावाट क्षमताको सुपर त्रिशूली जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । सोही आयोजना निर्माणमा प्रयोग भएका टिप्पर र एक्साभेटर नदीले बगाएको हो ।
रासस

प्रतिक्रिया