मुग्लिन-नारायणगढ सडकखण्डमा पहिरो, नौकिलोमा सडक भासियो

चितवन । पृथ्वीराजमार्ग अन्तर्गत इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । 

निरन्तरको वर्षा सँगै आज बिहान आएको पहिरोका कारण सडक दुईतर्फी अवरुद्ध भएको हो ।

प्रमुख जिल्ला अधिकारी चितवनका इन्द्रदेव यादवका अनुसार बिहान ४ बजे पहिरो खसेको हो । पहिरो पन्छाउने काम सुरु गरिएको छ । दुई वटा स्काभेटरले पहिरो पन्छाइरहेको उनले जानकारी दिए ।

यस्तै इच्छाकामना गाउँपालिका–३ मौवाखोला, दतिखोला, पानीधारालगायत क्षेत्रमा पनि पहिरो खसेको उनले बताए । यादवका अनुसार सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । 

यसैबीच नारायणगढ–मुग्लिन सडकखण्डको नौकिलोमा सडक दुई फिट तल भासिएको छ । निरन्तरको वर्षाका कारण सडक भासिन पुगेको हो । भासिएको सडकमा जुगेडीदेखि मुग्लिन तर्फ आउदै गरेको प्र.३–०१–०२४च ३०५६ नं.को बलेरो जिप फसेको छ ।
 

प्रतिक्रिया