ADVERTISING

Breaking News

बर्नहार्ट बन्यो क्यूएए मान्यता प्राप्त पहिलो निजी कलेज

काठमाडौं । काठमाडौंको बाफलमा रहेको बर्नहार्ट कलेजलाई विश्वविद्यालय अनुदान आयोगले क्यूएए प्रमाणपत्र दिएको छ । आयोगले बिहीबार कलेजलाई क्यूएए प्रमाणपत्र दिएको हो । उक्त क्यूएए प्रमाणपत्रको समयावधि पाँच वर्षको रहेको छ । नियमानुसार कलेजले वर्षेनी एकेडेमिक अडिट पेश गर्नुपर्ने छ । क्यूएए प्रमाणपत्र पाउने नेपालकै पहिलो कलेज बर्नहार्ट भएको शनिबार पत्रकार सम्मेलनमार्फत कलेजले जानकारी गराएको हो । त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित निजी उच्च शैक्षिक संस्थाहरूमध्ये क्यूएए मान्यता प्राप्त गर्ने नेपालकै पहिलो निजी कलेज बन्न सफल भएकोमा बर्नहार्ट कलेज परिवार खुसी भएको कलेज प्रमुख सहदेव सिग्देलले बताए । पत्रकार सम्मेलनमा यो कलेजमा स्नातक र स्नातकोत्तर तहमा गरी करिब पाँच सय जना विद्यार्थी अध्ययनरत रहेको उनले जानकारी दिए । क्यूएए प्रमाणपत्र प्राप्तिले गुणस्तरीय उच्च शिक्षाको सेवा प्रवाह गर्न झन उत्साह र मनोबल प्राप्त भएको सिग्देलको भनाइ छ । २०६० सालबाट शिक्षा क्षेत्रमा सेवा प्रवाह गरेको कलेजले २०७० सालपछि क्यूएए प्राप्तिका लागि प्रक्रिया सुरू गरेको थियो । क्यूएए प्राप्तिका लागि शैक्षिक गुणस्तर पनि महत्वपुर्ण रहेको बताउदै सिग्देलले २०७५ सालमा बिसिए प्रथम सेमेस्टरको बोर्ड परीक्षामा यस कलेजका विद्यार्थी शतप्रतिशत उत्तिर्ण भएको बताए । कलेजमा कूल पास प्रतिशत ८० प्रतिशतभन्दा माथि रहेको छ । क्यूएए प्राप्तिपछि विदेश पढ्न गएका विद्यार्थीलाई सजिलो हुने र शिक्षकलाई पनि रिसर्चलगायतमा सहयोग पुग्ने विश्वास रहेको उनको भनाइ छ । गत भदौ महिनामा बर्नहार्ट कलेजलाई उत्कृष्ट निजी विद्यालयका रूपमा शिक्षा मन्त्रालयले नगद दुई लाख ५० हजार रुपैयाँ पुरस्कारसहित सम्मान पत्र प्रदान गरेको थियो ।

आयोगबाट सञ्चालित उच्च शिक्षाको गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्रणालीमा आबद्ध भई कलेजले संस्थागत मूल्यांकनका सबै चरण पूरा गरी क्विएए प्रमाणपत्र पाएको हो।

leave a reply