हेटौंडा : गृहमन्त्री रामबहादुर थापाले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाविरुद्ध छानविन हुने बताएका छन् । प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्न हेटौंडा पुगेका थापाले पत्रकारसँग कुरा गर्दै बाँस्कोटाविरुद्ध सरकारले छानविन गर्ने बताएका हुन् ।
गृहमन्त्री थापाले निवर्तमान मन्त्रीले कमिसन मागेको विषयमा सरकारले आवश्यक छानविन गर्ने र सरकारका विभिन्न निकायले अनुसन्धान गर्ने जानकारी दिएका हुन् ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड रुपैयाँ कमिसन माग गरेको अडियो सार्वजनिक भएपछि मन्त्री बाँस्कोटाले राजीनामा दिएका थिए । सो प्रकरणका विषयमा सत्तारुढ नेकपाभित्र पनि छानविनको माग हुँदै आएको छ ।
मन्त्री थापाले एमसीसीको विषयमा सत्तारुढ दलले गठन गरेको कार्यदलको प्रतिवेदन अध्ययन भइरहेको भन्दै उनले प्रतिवेदनको आधारमा सदनबाट अनुमोदन हुने बताए । एमसीसी पारित भएपछि नेपालको विद्युत् र सडक पूर्वाधारमा ठूलो लगानी भित्रिने मन्त्री थापाको दावी छ ।
भारतसँगको सीमा विवाद कूटनीतिक ढंगवाट टुग्याउन पहल भैरहेको पनि जानकारी दिए । हिजोदेखि हेटौडामा जारी सुरक्षा गोष्ठीमा प्रदेशका १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखहरुको सहभागिता छ ।