एजेन्सी : चीनमा नोभेल कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या ३ सय ६१ पुगेको छ । आइतबार एकै दिन ५६ जनाको मृत्यु भएको हो । हुबेई प्रान्तस्थित स्वास्थ्य प्राधिकरणका अनुसार थप २ हजार ८ सय २९ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।
योसँगै चीनमा सो भाइरसबाट सङ्क्रमितको संख्या करिव १७ हजार २ सय पुगेको छ । अस्पतालमा भर्ना भएका ९ हजार ६ सय १८ जना बिरामीमध्ये ४ सय ७८ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । वुहानबाट फैलिएको उक्त भाइरस अहिले विश्वका दुई दर्जन बढी मुलुकमा देखिएको छ ।
भाइरसकै कारण फिलिपिन्समा पनि एकजनाको मृत्यु भएको छ । चीनबाहेक अन्य देशहरुमा १ सय ५० जनामा संक्रमण देखिएको छ । हङकङ विश्वविद्यालयका अनुसन्धानकर्ताले भने भाइरसवाट चीनमा ७५ हजारभन्दा बढी प्रभावित भएको दावी गरेका छन् । विरामीको संख्या चीनले लुकाएको हुनसक्ने आशंका गरिएको छ ।