ADVERTISING

Breaking News

प्रधानमन्त्री दाहालद्वारा आज मन्त्रिपरिषद विस्तारको तयारी

मन्त्रीको नाम चयन गर्न दलहरु आन्तरिक छलफलमा

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहालले आज मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । सत्तारुढ गठबन्धन दलहरूबीच सरकार विस्तारका लागि हिजो सहमति जुटेसँगै आज मन्त्रिपरिषद् विस्तारको तयारी भएको हो । आज बेलुकासम्म मन्त्रिपरिषद् विस्तारको तयारी रहेको भन्दै दिउँसोसम्म मन्त्रि बन्नेहरुको नाम पठाउने दलहरुको तयारी छ । आज गठबन्धनको बैठक बसेर मन्त्रालयको भागबण्डा बारेमा टुंगो लगाउने र आजै मन्त्रीको शपथ गराउने तयारी प्रधानमन्त्रीको छ । प्रधानमन्त्री नियुक्त भएयता दाहालले तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन । सहमति अनुसार कांग्रेसलाई आठ मन्त्रालय, माओवादी केन्द्र पाँच, नेकपा एकीकृत समाजवादीलाई दुई दिइने छ । जसपालाई दुई, लोसपालाई एक, नागरिक उन्मुक्तिलाई एक, आमजनता पार्टीलाई एक, जनमतलाई राज्यमन्त्रीसहित एक मन्त्रालय, नेसपालाई एक मन्त्रालय बाँडफाँटको सहमति जुटेको छ । सरकारलाई विश्वासको मत दिएको राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा भने मन्त्रालय परेको छैन । प्रधानमन्त्रीले दाहालले उसका लागि मन्त्रालय छुट्याउने तयारी गरेका छन् । पुस १०मा प्रधानमन्त्री नियुक्त भएका दाहालको नेतृत्वमा ११ पुसमा पहिलोपटक मन्त्रिपरिषद् गठन भएको थियो । गत १३ फागुनमा एमाले र माओवादी केन्द्रको सत्ता सहकार्य टुंगिएपछि नयाँ सत्ता गठबन्धन बनेपछि सरकारमा नयाँ मन्त्री जान लागेका हुन । हालको सत्ता गठबन्धनमा १० दल सहभागी छन् ।।

कांग्रेस बैठक

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने बैठकमा मन्त्रीको नाम चयन र उपनिर्वाचनका विषयमा छलफल हुनेछ । सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम छान्न कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको हो । हिजो बसेको सत्ता गठबन्धन दलको बैठकले मन्त्रालय बाँडफाँटमा मोटामोटी सहमति जुटाएको छ । सहमति अनुसार नेपाली कांग्रेसलाई आठ मन्त्री पाउने तय भएको छ । कांग्रेसले आफ्नो भागमा परेका आठ मन्त्रालयमा कसलाई पठाउने भन्ने निर्णय आज गर्नेछ । कांग्रेस उपसभापति पूर्णबहादुर खड्का नेतृत्वमा सरकारमा सहभागी हुँदैछ । उपनिर्वाचनका लागि उम्मेदवार तय गर्नेबारे कार्यसम्पादन समिति बैठकमा छलफल गरिने बताइएको छ । तनहुँ १, चितवन २ र बारा २ मा वैशाख १० मा हुने उपनिर्वाचनका लागि यही चैत २० मा उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ । कांग्रेसले पुष्पकमल दाहाल नेतृत्वको अहिलेको सरकारमा सहभागी हुने निर्णय गर्दै गत चैत ६ गते विश्वासको मत दिएको थियो ।।

leave a reply