काठमाडौं : नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
राष्ट्रपतिको कार्यालय शीतल निवासमा विशेष समारोहका बीच कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उनलाई शपथ ग्रहण गराएका हुन् ।
संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नु अघि संघीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ ।
शपथपछि उनको सम्मानमा सेनाले एक्काइस तोपको सलामी चढाएको थियो ।
कार्यक्रममा निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको बिदाइसमेत गरिएको छ । उनको सम्मानमा सेनाले २१ तोपको सलामी नै अर्पण गरेको थियो ।
शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत संवैधानिक निकायका प्रमुखको उपस्थिति रहेको थियो ।
नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्व सभामुख पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका हुन् ।
उनी प्रतिस्पर्धी नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङलाई दोब्बरभन्दा बढी मतले पराजित गरी निर्वाचित भएका हुन् ।
मतदानमा पौडेलले ३३ हजार आठ सय दुई र नेम्वाङले १५ हजार पाँच सय १८ मतभार प्राप्त गरेका थिए ।
संविधानमा नेपालमा एक राष्ट्रपति रहने र राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने उल्लेख छ । संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ ।
राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटकसम्म राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनः उम्मेदवार हुन नसक्ने संवैधानिक व्यवस्था छ । पौडेले नेपालको तेस्रो राष्ट्रपति हुन् ।