काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक डा. टेड्रोस एडहानोम गेब्रेयसससँग भेटवार्ता गरेका छन् ।
बिरामी सुरक्षा सम्बन्धी पाँचौं मन्त्रीस्तरीय शिखर सम्मेलनमा सहभागी हुन स्वीट्जरल्यान्ड पुगेका मन्त्री गिरीले गेब्रेयसससँग भेटवार्ता गरेका हुन् ।
भेटमा मन्त्री गिरीले विश्व स्वास्थ्य संगठनले नेपालको स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानका लागि आभार प्रकट गरेका थिए ।
यस्तै मन्त्री गिरी र गेब्रेयससबीच खोपबाट बचाउन मिल्ने रोगहरूको नियन्त्रण, रोकथाम र उन्मूलनमा खेलेको भूमिकालगायत विषयमा छलफल भएको छ ।
डा. गेब्रेयससले नेपालले स्वास्थ्य क्षेत्रमा ठूलो फड्को मारेको भन्दै डब्लुएचओले गरिरहेको सहयोगलाई निरन्तर दिने प्रतिबद्धता जनाएको मन्त्री गिरीको सचिवालयले जनाएको छ ।