काठमाडौः सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन । सत्ता साझेदार दुई अध्यक्षविच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको हो ।
भेटवार्तामा राष्ट्रपति चुनाव, पछिल्लो समय गठबन्धनमा देखिएको समस्या लगायतका विषयमा कुराकानी भएको छ । नागरिकता प्रकरणमा गृहमन्त्री पदबाट हटेका रवि लामिछानेले फेरि गृहमन्त्री मनाउन एमाले अध्यक्ष ओलीलाई दबाब दिदै आएका छन । प्रधानमन्त्री दाहाल भने तत्काल उनलाई मन्त्री बनाउने पक्षमा देखिएका छैनन । राष्ट्रपति निर्वाचनलाई लिएपनि दुई दलविच खटपट छ । एमाले आफ्नो उम्मेदवारलाई सहयोग गर्नुपर्ने अडानमा छ भने माओवादी राष्ट्रिय सहमति हुनुपर्ने पक्षमा देखिएको छ ।
आजै प्रधानमन्त्री दाहालले उपप्रधान तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनसँग पनि भेट गरेका छन । सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष दाहाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको हो । दाहालले आजै प्रदेश एकका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँग पनि छलफल गरेका छन ।
आजै प्रधानमन्त्री एवं माओवादी अध्यक्ष दाहालले पार्टीका शीर्ष नेतासँग पनि राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार छाडने चेतावनीपछिको अवस्थाबारे छलफल गर्दैछन । उनले पार्टीका वरिष्ठ उपाध्यक्ष एवं उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङसँग बालुवाटारमा छलफल गर्न लागेका हुन ।
पछिल्लो राजनीतिक घटनाक्रमकै कारण आजका लागि तय भएको माओवादी बैठक समेत स्थगित भएको छ ।