काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)का सात जना केन्द्रीय सदस्यले अध्यक्ष चतुरबहादुर चन्दसहित कार्य सम्पादन समितिका पदाधिकारीको राजीनामा माग गरेका छन् ।
नेपाल टी-२० लिग आयोजनाको जिम्मेवारी भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसलाई दिएर गल्ती गरेको भन्दै समिति सदस्यहरुले नै पदाधिकारीको राजीनामा माग गरेका हुन् ।
आयोजक कम्पनी सेभेन थ्री स्पोर्टस नै फिक्सिङमा संलग्न भएको पाइएको र यसो मुख्य जिम्मेवार क्यान नेतृत्व भएको उनीहरुको आरोप छ ।
केन्द्रीय सदस्य ऋषिराज गौतम, दाउद अन्सारी, सञ्जयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरीले अध्यक्ष सहितले पदाधिकारीले क्यान नेतृत्व र कार्य सम्पादन समिति स्पट फिक्सिङको दोषबाट भाग्न नसक्ने उल्लेख गरेका हुन् ।
उनीहरुले अध्यक्ष चन्द, सचिव प्रशान्त विक्रम मल्ल, कोषाध्यक्ष रोसन सिंह, सदस्यहरु दुर्गाराज पाठक र पदम खड्काको पनि राजीनामा मागेका छन् ।
यसअघि अध्यक्ष चन्दले पत्रकार सम्मेलन गरेर नेपाल टी-२० लिग आयोजनामा गल्ती भएको स्वीकारेका थिए ।
केन्द्रीय सदस्यहरुले भने आफूहरुले बारम्बार सचेत गराउँदा पनि अध्यक्ष र कार्य सम्पादन समितिले जानाजान गलत निर्णय गरेको आरोप लगाएका छन् ।