प्रतिनिधिसभाको समानुपातिक प्रणालीतर्फको गणना अन्तिम चरणमा पुग्दा सात वटा राजनीतिक दल राष्ट्रिय पार्टी बन्ने निश्चित देखिएको छ । प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फ एक करोड १२ हजार गणना सकिदा नेकपा एमाले २६ लाख ९९ हजारभन्दा बढी मत सहित पहिलो स्थानमा छ । नेपाली कांग्रेसले २५ लाख ५७ हजार मत कटाएको छ । त्यस्तै नेकपा माओवादी केन्द्रले ११ लाख ४४ हजार मत प्राप्त गरेर तेस्रो दल बनेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ७० हजार, जनता समाजवादी पार्टीले ३ लाख ८८ हजार र जनमत पार्टीले ३ लाख ५६ हजार मत प्राप्त गरी थ्रेस होल्ड कटाएका छन् । नेकपा एकीकृत समाजवादीले अहिलेसम्म २ लाख ८२ हजार मत पाएको छ । आयोगले प्रदेशतर्फ समानुपातिकतर्फको मतगणना पनि जारी राखेको छ । प्रदेश सभातर्फको समानुपातिक मतमा पनि एमाले नै अगाडि रहेको छ । मुलुकका ७ प्रदेश मध्ये ६ प्रदेशमा एमालेको मत बढी छ भने मधेश प्रदेशमा कांग्रेस अगाडि रहेको छ । दोलखाका केही मतदान केन्द्रमा पुनः मतदान हुन लागेकाले यो जिल्लाभरिको समानुपातिक मतगणना भएको छैन । त्यस्तै बाजुरा र स्याङ्जा क्षेत्र नम्बर २ को पनि मतगणना सुरु भएको छैन । बाँकी स्थानमा मतगणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।।
समानुपातिकतर्फ एक करोड १२ हजार मतगणना सकियो, एमालेलाइ २६ लाख मत
जनमत सहित सात पार्टीले कटाए थ्रेस होल्ड
