एजेन्सी : श्रीलंकाको सेनाले शान्ति कायम राख्न र सुरक्षा बललाई सहयोग गर्न प्रदर्शनकारीलाई अपिल गरेको छ । चरम आर्थिक संकट सामना गरेको श्रीलंकाका सेना प्रमुख सभेन्द्र सिल्भाले आज विज्ञप्ती प्रकाशित गर्दै शान्ति कायम गर्न जनतालाई आह्वान गरेका हुन् ।
सिल्भाले राजनीतिक संकटको शान्तिपूर्ण समाधान खोज्ने एउटा अवसर आएको पनि बताएका छन । उनले श्रीलंकालीहरूलाई देशमा शान्ति कायम गर्न सशस्त्र बल र प्रहरीलाई सहयोग गर्न आग्रह गरे ।
शनिबार राष्ट्रपति गोटाबाय राजापाक्षेको राजीनामा माग गर्दै प्रदर्शनकारीको ठूलो समूह राष्ट्रपति निवास प्रवेश गरेको थियो । प्रधानमन्त्री निवासमा पनि आगजनी भएको थियो ।
प्रदर्शन चर्केपछि राष्ट्रपति राजापाक्षले जुलाई १३ मा राजीनामा दिने घोषणा गरेका छन् । आर्थिक र राजनीतिक संकट चर्किएका बेला सभामुख महिन्दा यापा अभयवर्द्धना अस्थायी राष्ट्रपति हुने निश्चित भएका छ ।
राजपाक्षले राजीनामा दिने घोषणा गरेपछि प्रदर्शनकारीले खुसीयाली मनाएका छन् । राजीनामा दिने राष्ट्रपतिको घोषणापछि सहरमा खुसीयालीसहित आतसबाजी गरिएको छ । प्रधानमन्त्री रनिल विक्रमासिङ्गे यसअघि नै राजीनामा दिन सहमत भैसकेका छन् ।
अमेरिकाले श्रीलंकाली नेतृत्वलाई देशको आर्थिक सङ्कट समाधानका लागि तत्काल कदम चाल्न आह्वान गरेको छ । श्रीलङ्काले खाद्यान्न, इन्धन र औषधिको चरम अभावको सामना गरिरहेको छ ।
विदेशी मुद्राको सञ्चिति रित्तिएपछि पेट्रोल र डिजल बेच्न रोकिएको छ । महामारी, बढ्दो ऊर्जा मूल्य अनि लोकप्रियतावादी कर छुटजस्ता कारणहरूले गर्दा श्रीलंकको अर्थतन्त्र संकटमा परेको छ ।