काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयहरुमा तालाबन्दी लगाउने काम हुन नदिन सरकार सचेत रहेको बताएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा उनले विश्वविद्यालयमा तालाबन्दी लगाउने काम सदाका लागि अन्त्य गर्न सरकारले समयमा परिक्षा लिने, परिणाम निकाल्ने र विद्यार्थीहरुले पठनपाठन सम्बन्धि उठाएका अन्य मागहरुको सम्बोधन गर्न संवाद गरिरहेको जानकारी दिएका हुन् ।
मन्त्री पौडेलले विश्वविद्यालयहरुमा ताला लगाउन नहुने विषयमा सरकार गम्भिर रहेको बताए ।
मन्त्री पौडेलले सांसदहरुले तालबन्दीको विरोध गरेपछि त्रिभुवन विश्वविद्यालयलगायतका विश्वविद्यालयहरुमा लगाइएको तालाबन्दी खुलेको पनि स्मरण गराए ।
उनले विश्वविद्यालयको पठनपाठनमा अवरोध हुने खालका कुनै पनि गतिविधि राम्रो नभएको पटकपटक दोहोर्याए ।