ADVERTISING

Breaking News

सुदुरपश्चिममा लिफ्टिङ प्रविधिका खानेपानी आयोजना धमाधम निर्माण

खानेपानी पाएपछि दार्चुला र बैतडीका बासिन्दा दंग

सुदूरपश्चिमको पहाडी जिल्लाहरुमा धमाधम लिफ्टिङ प्रविधिका खानेपानी आयोजनाहरु निर्माण हुन थालेका छन् । केही बर्ष अघि छिटफुट रुपमा मात्रै लिफ्टिङ प्रविधिबाट निर्माण भएका खानेपानी योजनाहरु सफल देखिन थालेपछि सुदूरपश्चिम प्रदेश सरकार र यहाँका स्थानीय तहहरुले पनि यो प्रविधीमा लगानी गर्न थालेका हुन् ।

दार्चुलाको मालिकार्जुन गाउँपालिकामा सुदूरपश्चिमकै उच्च भु–भागमा खानेपानीको योजना निर्माण भएको छ । मालिकार्जुन गाउँपालिका–२, साँणीघाटी–कुटिया खोलाबाट न्वालपानी गाउँमा ४ किलोमिटर ठाडो पाइपलाईन मार्फत करीब १३ सय मिटर उकालोमा पानी तान्न पाँचवटा सोलार प्लान्ट जडान गरिएका छन् । स्थानीय ६७ घर परिवारका लागि साढे चार करोड खर्च गरेर २८ सय मिटरको उचाईमा खानेपानीको सुविधा पुगेपछि स्थानीयहरु दङ्ग परेका छन् ।
खानेपानी बोक्दा बोक्दा हैरान भएका मालिकार्जुनका बासिन्दा मात्र होइन बैतडीको सुर्नया–६ धुलिधार स्थानीयहरु पनि उकालोमा पानी तानेर घर घरमा धारा बन्न थालेपछि हर्षित भएका छन् ।
पानी बोक्दै दिन बित्ने मालिकार्जुन–२ र सुर्नया–६ का बासिन्दाका लागि अहिले खानेपानी सबैभन्दा खुसीको कुरा बनेर आएको छ । बैतडीकै मेलौलीमा साढे आठ करोडको लागतमा स्थानीय पाँच सय घर परिवारलाई पुग्ने गरि सुदूरपश्चिमकै ठूलो लिफ्ट प्रविधीको खानेपानी योजना बन्दैछ । सुर्नया नदीबाट एक किलोमिटरको भर्टिकल उचाईमा ३५ किलोवाट क्षमताका चारवटा सोलार प्लान्टबाट मेलौलीमा खानेपानी पु¥याइएको छ । मेलौलीजस्तै सिगास गाउँपालिका–३ ठुलसैनमा पनि झण्डै पाँच करोडको लागतमा लिफिट्ङ खानेपानी निर्माण हुन लागेको छ । दुई घण्टाको उकालोमा खानेपानी बोक्नुपर्ने अवस्थाको यो गाउँमा अहिले एक घर एक धारा बन्ने क्रममा छन् । पानीकै अभावमा बुहारी भित्र्याउन गाह्रो पर्ने ठूलसैनमा अहिले त्यो समस्या हटेर गएको छ ।
खानेपानीको चरम समस्या भएका बिभिन्न ठाउँहरुमा अहिले लिफिट्ङ प्रविधीका ठुल्ठुला खानेपानी योजनाहरु निर्माण भइरहेका छन् । उच्च भु–भागमा रहेका बस्तीहरुमा खानेपानी पु¥याउन सोलार लिफ्टिङ प्रविधिका योजना निर्माण भएपनि उपभोक्ताका लागि व्यवस्थापन गर्न भने चुनौतीपूर्ण देखिन्छन् ।

leave a reply