ADVERTISING

Breaking News

स्थानीय तह निर्वाचन: ८० प्रतिशत नतिजा सार्वजनिक

काठमाडौं ।स्थानीय तह निर्वाचनको ८० प्रतिशत नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगले नियमित पत्रकार सम्मेलन गर्दै ७५३ मध्ये ५७० स्थानीय तहको पूर्ण नतिजा आइसकेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल जनाएका छन् ।

पत्रकार सम्मेलनमा १७४ नगर प्रमुखरउपप्रमुख, ३९६ गाउँपालिका अध्यक्षरउपाध्यक्ष निर्वाचित भइसकेको र ३५ हजार २२१ जनप्रतिनिधिमध्ये २९ हजार ३०३ जना निर्वाचित भइसकेको प्रवक्ता पौडेलले बताए ।

पौडेलका अनुसार मतगणना बाँकी रहेका स्थानीय तहमा गणकहरुको संख्या बढाएर जतिसक्दो चाँडो परिणाम सार्वजनिक गराउन आयोगले निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको छ । पुनः मतदान भएका तहहरुको हकमा मतदान सम्पन्न भएको मितिले ४ दिनभित्र मतपरिणाम सार्वजनिक गर्ने तयारी गरिएको आयोगले जनाएको छ ।

जेठ ५ गतेभित्र निर्वाचन परिणाम सार्वजनिक गर्ने आयोगको लक्ष्य विभिन्न कारणले पूरा नभएको प्रवक्ता पौडेलले बताए । परिणाम नआएका स्थानीय तहहरु रिक्त हुने वा त्यसको संवैधानिक अवस्था के हुने भन्नेमा सरकारले नै निर्णय गर्नुपर्ने आयोगको भनाइ छ ।

‘जुन पालिकाहरुमा नयाँ पदाधिकारीहरुले पद सम्हाल्ने स्थिति हुँदैन, त्यहाँ केही दिनले त्यति ठूलो फरक नपर्ला’,पौडेलले भने । त्यो समयमा रिक्त हुन्छ वा हुँदैन वा के हुन्छ भन्नेमा निर्वाचन आयोगले भन्दा सरकार र संघीय मन्त्रालयले भन्नु उपयुक्त हुने उनले बताए ।

leave a reply