ADVERTISING

Breaking News

स्थानीय निर्वाचनको सम्पूर्ण तयारी पूरा, भोलि बिहान ७ बजेदेखि ५ बजेसम्म मतदान

काठमाडौ । निर्वाचन आयोगले भोलि हुने स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । बिहीवार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगले देशभरका सबै मतदान केन्द्रमा निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । वैशाख २७ गते मध्यराति १२ बजेपछि शुरु भएको मौन अवधिमा निर्वाचन आचारसंहिता २०७८ को पालनामा आयोगले विशेष सजगता अपनाएको पनि जानकारी दिएको छ । त्यस्तै आयोगले आचारसंहिता लागू भए यता हालसम्म आचारसंहिता उल्लंघनका घटनामा ६६ वटा स्पष्टीकरण सोधिएको, ९ वटा सचेत गराइएको र १ वटामा ध्यानाकर्षण गराइएको पनि जनाएको छ । आयोगले आचारसंहीता उल्लेंघन गरेको भन्दै विभिन्न पार्टीका नेताहरुलाई पनि स्पष्टीकरण सोधेको जनाएको छ ।
आयोगले निर्वाचनका दिन वर्षाका कारणले मतगणना र मतदान कार्य प्रभावित नहुने गरी जोगाउन र निर्वाचन सामग्रीको समेत सुरक्षा गर्न सम्वन्धित सरकारी निकायहरुलाई निर्देशन समेत दिएको छ । साथै आयोगले मतदानका दिन शुक्रवार निर्वाचन कार्यमा खलल नहुने गरी एम्बुलेन्स, खानेपानीको ट्यांकर, दुध बोक्ने सवारी, दमकल, दूर सञ्चार तथा केवल सेवा, शव वाहन, अस्पतालका स्वास्थ्यकर्मीको आवागमनका लागि प्रयोग हुने साधन, अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सकले प्रयोग गर्ने सवारी, फोहारमैलाका साधन, तरकारी, विद्युतका साधन र कुटनीतिक सवारी साधनले अनुमति पत्र लिनु नपर्ने पनि जनाएको छ । स्थानीय तह निर्वाचनमा भाग लिने भनि दर्ता भएका ७९ वटा राजनीतिक दलहरु मध्ये जम्मा ६५ वटा राजनीतिक दलहरु चुनावी प्रतिस्पर्धामा रहेका छन् । ५५ हजार ६९८ जना महिला र ८९ हजार ३ सय १३ जना पुरुष गरी विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवार समेत जम्मा १ लाख ४५ हजार ११ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् । निर्वाचनमा १० हजार ७ सय ५६ मतदानस्थलका २१ हजार ९ सय ५५ मतदान केन्द्रहरूबाट १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताले मतदान गर्नेछन् ।

leave a reply