ADVERTISING

Breaking News

मंगलबार रातिदेखि मादक पदार्थको विक्री वितरण र सेवनमा प्रतिबन्ध

  सबै मतगणनास्थलमा ‘सिसी क्यामरा’ जडान हुने

काठमाडौ । निर्वाचन आयोगले बैशाख २७ गते मंगलबार राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्म मादक पदार्थको विक्री वितरण र सेवन गर्न प्रतिबन्ध लगाएको छ । आयोगले सोमबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएको हो । आयोगले कालो, रातो, निलो वा हरियो मध्ये कुनै मसी प्रयोग भएको कलम वा डटपेनले मतपत्रमा हस्ताक्षर गर्ने व्यवस्था मिलाउने समेत बताएको छ ।
आयोगले चितवनको भरतपुरस्थित गणेशथानमा निर्वाचन आचारसंहिता विपरित भूमिको निस्सा बाँडने काम गरेको भन्दै राष्ट्रिय भूमि आयोगका पदाधिकारीलाई स्पष्टिकरण सोधेको छ । आयोगले सरकारी गाडी लिएर काँग्रेसको चुनावी सभामा सहभागी भएको भन्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई पनि स्पष्टिकरण सोधेको छ ।

 निर्वाचन आयोगले सबै स्थानीय तहका मतगणनास्थलमा अनिवार्य रुपमा क्लोज सर्किट क्यामेरा ‘सिसी क्यामरा’को प्रबन्ध गर्ने भएको छ । स्थानीय तहको निर्वाचनलाई विवादरहित र स्वतन्त्र सम्पन्न गराउन ‘सिसी क्यामरा’को प्रबन्ध गरिएको हो । मतगणना कार्यलाई पारदर्शी र सुरक्षित राखी कुनै विवाद उत्पन्न भएको पाइएमा विद्युतीय अभिलेखीकरणका लागिसमेत उपयोगी हुने भएकाले सिसी क्यामराको प्रबन्ध गर्न निर्देशन दिइएको आयोगले जनाएको छ । आयोगले मंगलबारसम्म सबै स्थानीय तहमा क्यामरा जडान भइसक्ने जनाएको छ । सबै मतगणनास्थलको प्रत्यक्ष दृश्य आयोगको बहादुरभवनस्थित कार्यालयबाटै हेर्न मिल्ने गरी व्यवस्था मिलाइएको छ । यसबाट निर्वाचनको विश्वसनीयतामा समेत वृद्धि हुने र कुनै अवाञ्छित गतिविधिले प्रश्रय नपाउने विश्वास लिइएको छ । निर्वाचनका लागि कूल १० हजार ७ सय ५६ मतदानस्थल र २१ हजार ९ सय ५५ मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचनका लागि कूल एक करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता छन् ।।

leave a reply