ADVERTISING

Breaking News

छ वटा प्रदेशमा कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान

देउवा, पौडेल र सिटौला समूह बनाएर प्रतिस्पर्धामा

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत ६ प्रदेशमा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । केन्द्रीय निर्वाचन समितिको कार्यतालिका अनुसार आज प्रदेश पदाधिकारी चयनका लागि निर्वाचन हुन लागेको हो । केही प्रदेशमा विहान ८ बजेबाट मतदान जारी छ भने केहीमा मतदान प्रक्रिया सुरु हुने क्रममा रहेको निर्वाचन समितिले जानकारी दिएको छ । सबै प्रदेशमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण सिटौला पक्षले उम्मेदवारी दर्ता गराएको छ । अधिकांश प्रदेशमा नेतृत्वका लागि संस्थापन र इतर पक्षविच प्रतिस्पर्धा हुने देखिएको छ । प्रदेश १ मा सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षबाट उद्धव थापा र संस्थापनइतर पक्षबाट केन्द्रीय सदस्य गुरुराज घिमिरेले सभापतिमा उम्मेदवारी दिएका छन् । यसैगरी बागमतीमा संस्थापन पक्षबाट मकवानपुरका जिल्ला सभापति ईन्द्र बानियाँ, संस्थापनइतर पक्षबाट जगदीश्वरनरसिंह केसी र सिटौला पक्षबाट पूर्वरक्षामन्त्री भीमसेनदास प्रधान प्रदेश सभापतिको प्रत्याशी रहेका छन् । यस्तै गण्डकी प्रदेशमा संस्थापन पक्षबाट केन्द्रीय सदस्य अर्जुन जोशी र संस्थापन इतर पक्षबाट शुक्रराज शर्माले सभापतिमा उम्मेदवारी दिएका छन् । लुम्बिनी प्रदेशमा संस्थापन पक्षबाट भरत शाह र संस्थापनइतर पक्षबाट अमरसिंह पुन सभापतिको उम्मेदवार बनेका छन् भने कर्णाली प्रदेशमा संस्थापन पक्षबाट ललितसिंह शाही र संस्थापन इतर पक्षबाट भूपेन्द्रजंग शाहीबीच प्रतिस्पर्धा हुने भएको छ । सुदुरपश्चिम प्रदेशमा संस्थापन पक्षबाट केन्द्रीय सदस्य एवं पूर्वमन्त्री वीरबहादुर बलायर र संस्थापनइतर पक्षबाट नारायणदत्त मिश्र सभापतिको उम्मेदवार बनेका छन् । प्रदेश २ मा भने प्रदेश अधिवेशन हुन सकेको छैन । सर्लाहीमा क्षेत्रीय अधिवेशन नै हुन बाँकी रहेका कारण सो प्रदेशको अधिवेशन प्रभावित बनेको हो ।

leave a reply