काठमाडौ । जनस्वास्थ्यमा प्रतिकूल असर गर्ने विज्ञापन सामग्री प्रचारप्रसार नगर्न भन्दै विज्ञापन बोर्डले जारी गरेको सूचनाप्रति मिडिया अलाइन्स नेपालले आपत्ति जनाएको छ । बिज्ञापन बोर्डले मदिरा, चुरोट, सुर्र्ति तथा सूर्तिजन्य पदार्थ लगायतका जनस्वास्थमा प्रतिकुल असर गर्ने कुनैपनि बिज्ञापन सामग्रीको उत्पादन, वितरण प्रचार प्रसार नगर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ । बिज्ञापन नियमन गर्ने ऐन २०७६ को दफा ५ मा यस्ता सामग्री प्रसारणमा रोक लगाएको छ । बोर्डले सोही ऐनमा टेकेर प्रचलित कानुनले बिज्ञापन गर्न निषेध गरेका बिषयमा बिज्ञापन गर्न नहुने भन्दै सञ्चारमाध्यमको ध्यानाकर्षण गराएको थियो । मिडिया अलाइन्सले बिज्ञापनको विश्वप्यापी परिभाषा र भूमिकालाई कमजोर बनाउने विज्ञप्ति भन्दै आपत्ति जनाएको छ । अलाइन्सले बिज्ञापन उपभोक्ताको छनौटको अधिकार बनिसकेको २१औं शताब्दीमा उपभोक्ताको अधिकार कुण्ठित हुने गरि जारी सूचनाप्रति खेद प्रकट गरेको छ । अलाइन्सका महासचिव दिरेकलाल श्रेष्ठद्वारा जारी विज्ञिप्तिमा बिश्वब्यापी मान्यता र प्रचलित कानुनले बिज्ञापनलाइ बन्देज नगरेको अवस्थामा विज्ञापन बोर्ड जस्तो संस्थाले ऐन विपरित विज्ञप्ति जारी गर्नु खेदजनक भएको भन्दै तत्काल फिर्ता लिन माग गरिएको छ । कोरोनाका कारण धरासायी भएको आमसंचार मध्यमलाई पुरानै लयमा फर्काउन बिज्ञापन बोर्ड उन्मूख रहोस भन्ने माग गर्दै अलाइन्सले अन्यथा नेपाली मुलधारका आम संचार मध्यमहरुको छाता संगठन मिडिया अलाइन्स नेपाल कडा कदम चाल्न बाध्य हुने चेतावनी दिएको छ ।
विज्ञापन बोर्डको सूचनामा मिडिया अलाइन्सको आपत्ति
उपभोक्ता अधिकार कुण्ठित हुने सूचना भन्दै खेद प्रकट
