महाकाली नदी तर्ने क्रममा भारतीय सुरक्षाकर्मीले तुइन चुडाउँदा नदीमा बगेका दार्चुलाका जयसिंह धामीको परिवारलाई सरकारले १० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले धामीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको हो । भारतको बाटो भएर सदरमुकाम खलंगा आउने क्रममा तुइनमार्फत महाकाली तर्दा धामी साउन १५ गत महाकालीमा खसेर बेपत्ता भएका थिए । बेपत्ता भइरहेका धामीको खोजी जारी रहेको जनाइएको छ । उक्त घटनाको छानबिनका लागि सरकारले साउन १७ गते गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो। समितिले अझै प्रतिवेदन बुझाइसकेको छैन । यस्तै मन्त्रिपरिषद् बैठकले नेपाल कानुन आयोगको अध्यक्षमा पूर्व न्यायाधीश जागेश्वर सुवेदीलाई नियक्त गर्ने निर्णय गरेको छ । यसैगरी, राष्ट्रिय योजना आयोगको सदस्यमा पुष्परमण वाग्ले र सोलनी प्रधान सिंहलाई नियुक्त गर्ने निर्णय समेत बैठकले गरेको छ । सरकारले कोरोना विरुद्धको सारकोभ–२ एमआरएनए तथा हैजाको खोपलाई नेपालमा क्लिनिकल ट्रायल गर्न अनुमति दिएको छ ।
धामी परिवारलाई सरकारले १० लाख रुपैयाँ सहयोग गर्ने
