ADVERTISING

Breaking News

इटाली १६औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ – इटाली १६औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको अन्तिम १६ को खेलमा अष्ट्रियालाई २–१ गोल अन्तरले पराजित गर्दै इटाली अन्तिम आठमा पुगेको हो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । इंग्ल्यान्डको वेम्बली स्टेडियममा इटालीलाई जित दिलाउन परिवर्तित खेलाडीद्वय फेडरिको चिसाले ९५औँ र माटियो पेसिनाले १ सय पाँचौ मिनेटमा एक–एक गोल गरे । अष्ट्रियाका सासा कलाडिज्कले एक सय चौधौँ मिनेटमा एक गोल फर्काए । चिसा ८४ औं मिनेटमा डोमिनिको बेरार्डीको स्थानमा र पेसिना ६७ औं मिनेटमा निकोला बरेलाको स्थानमा मैदान प्रवेश गरेका थिए ।

जितसँगै इटालीले ३१ खेलमा अपराजित रहने टिमको कीर्तिमान समेत बनाएको छ । इटालीले ८२ वर्ष अगाडीको आफ्नै कीर्तिमान भङ्ग गरेको हो । इटालीले १९३५ को अक्टोबर देखि जुलाई १९३९ सम्म ३० खेलमा अपराजित रहेर कीर्तिमान बनाएको थियो । इटालीले जुलाई २ मा हुने क्वाटरफाइनलमा बेल्जियम र पोर्चुगलबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको समूह चरणमा इटाली समूह ’ए’ को विजेता र अष्ट्रिय समूह बीको उपविजेता बन्दै नकआउट चरणमा पुगेका थिए । गएराति नै भएको पहिलो खेलमा वेल्सलाई ४–० गोल अन्तरले हराउँदै डेनमार्क पनि युरोकपको क्वाटरफाइनलमा पुगेको छ । डेनिस टोलीलाई जित दिलाउन कास्पर डलबर्गले दुई, जोवाकिम माएल र मार्टिन ब्राथवैटले एक–एक गोल गरे ।

कास्परले २७ र ४८ औँ मिनेटमा गोल गरेका हुन । त्यसैगरी, जोवाकिमले ८८ औँ तथा मार्टिनले इन्जुरी समयमा गोल गरे । ९० औँ मिनेटमा वेल्सका ह्यारी विल्स रात कार्ड खाएर बाहिरिएका थिए । डेनमार्क सन् २००४ पछि पहिलो पटक युरोकपको क्वाटरफाइनलमा पुगेको हो । वेल्स गत युरोकपमा सेमिफाइनलसम्म पुगेको थियो । डेनमार्कले सेमिफाइनल प्रवेशका लागि नेदरल्याण्ड्स र चेक रिपब्लिकबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

leave a reply