ADVERTISING

Breaking News

मेलम्ची खानेपानी आयोजनाले राजधानीमा पानी वितरण रोक्ने

काठमाडौं- सुरुङ परीक्षणको बहानामा मेलम्ची खानेपानी आयोजनाले राजधानीमा पानी दिन सुरु गरेको छोटो समयमै करिब दुई महिना वितरण रोक्ने भएको छ ।

यसबाट आयोजनाको सम्पूर्ण काम नसकिँदै सरकारले हतारमा आयोजना उद्घाटन गरेको प्रष्ट हुन्छ । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीमाथि विभिन्न आयोजना हतारमा उद्घाटन र शिलान्यास गरेको आरोप लाग्दै आएको छ । सञ्चालनमा आएको छोटो समयमै मेलम्ची खानेपानी आयोजना मर्मत गर्नुपर्ने स्थितिले प्रधानमन्त्रीले जथाभाबी तरिकाले आयोजनाको शिलान्यास र उद्घाटन गरेको प्रष्ट हुन्छ ।

निर्माण कार्य र परीक्षणका काम सम्पूर्ण सकेर नियमित रूपमा पानी वितरण सुरु गरेपछि मात्र आयोजनाको उद्घाटन हुनुपर्ने हो । तर काठमाडौं उपत्यकामा परीक्षणका रूपमा पानी झर्नेबित्तिकै सरकार उद्घाटनमा आतुर देखियो । राजनीतिक अस्थिरताका कारण सरकारको आयु अनिश्चित भएपछि प्रधानमन्त्री ओली मेलम्ची लगायतका आयोजना उद्घाटन गर्न हतारिएको देखिन्छ । आयोजनाको सम्पूर्ण परीक्षण पूरा नभई राजधानीमा पानी वितरण सुरु गरिएका कारण र ४० देखि ५५ दिनसम्म पानी वितरण रोकेर परीक्षण सुरु गर्नुपरेको प्राविधिकहरु बताउँछन् । ती प्राविधिकका अनुसार आयोजनाको बेलाबेलामा परीक्षण र मर्मत हुनु स्वाभाविकै हो ।

तर सबै परीक्षण सकेर मात्र नियमित रूपमा पानी वितरण सुरु गरेको भए यति छिट्टै फेरि रोक्नुपर्ने अवस्था आउँदैनथ्यो । आयोजनाले आगामी असार १ देखि सुरुङमार्गको प्राविधिक निरीक्षण तथा सुपरीवेक्षण गर्ने कार्यतालिका बनाएको छ । यसका लागि ५५ दिनदेखि दुई महिनासम्म लाग्ने र यो अवधिमा पानी वितरण रोकिने जनाइएको छ ।

leave a reply