ADVERTISING

Breaking News

आत्मरतीमा लुकेको निष्प्राण !

  • केदार कोइराला

आशावादी रहने समयसीमा र सकारात्मक सोच सँगसँगै हिँड्न सक्दोरहेन छ । कर्तव्यको आत्मानुभूति नभएसम्म आशको ह्राश हुने सिवाय आशावादी भई रहनु भनेको समयको बर्वादी मात्रै रहेछ । क्षणभंगुर आनन्दको दिर्घ सोच कोरा कल्पना हो र यो कोरा कल्पनामा जीवन व्यतित गर्नु मात्रले लक्ष्य हासिल सम्भव छैन । ‘जयतु संस्कृतं’को समय होइन यो । देवता र दानवको लडाईं युग पनि होइन । मानव नै दानव भएको कलियुग हो यो । सायद त्यही कलियुगको प्रभावमा बाँचेको मान्छेमा राक्षसी प्रवृत्ति हावी हुन पुग्यो । एउटा कालखण्ड थियो जतिबेला मानवले देवत्वकरण गरेर वुद्ध भयो । रामले देवत्वकरण गरेर मर्यादा पुरूषोत्तम कहलिए । महात्मा गान्धी, नेलशन मण्डेला जस्ता व्यक्तित्व लोकप्रिय बने । तर, पछिल्लो समय त्यही मानवजाती किन राक्षस बनिरहेको छ ?

आत्मरतीमा रमाउन पाइन्छ । ज्ञान अभावमा ज्ञानीको सरसल्लाहबाट चल्न सकिन्छ । तर, अर्काको समवेदनशीलता मर्ने गरी उपद्रो गर्न पाइँदैन । पाप र पुण्यको बाटो अलग अलग छ तर हिँड्ने चाहिँ मान्छे नै हो । पापकर्म गरेर पुण्यको बाटो दौडिन्छु भन्ने पाखण्ड, पाखण्डीले देख्दैन । अर्काको पीडामा रमाउने प्रवृत्ति बोकेर पुण्य खोज्नु भुसबाट तेल निकाल्छु भने जस्तै हो । करूणा हराएको मान्छे सत्मार्गी हुनै सक्दैन । पशुको बध गरेर त्यही पशुको मासुमा स्वाद खोज्ने मान्छेबाट करूणा र चित्कारको परिभाषा खोज्नु पाखण्ड सिवाय के नै हुनसक्छ र ? त्यही पनि आशावादी छ मान्छे । सत्मार्गमा हिँडेर सुकर्म मार्फत सकारात्मक सन्देशको अपुरो यात्रा कठिन छ, असम्भव छैन । आँगनमा कंकाल शरीर प्राण बचाउन चित्कार गरिरहेको छ । घरभित्र चौरासी व्यञ्जनमा मस्त आत्माभित्र मानवताको अंश आश गर्नु बगरेको अगाडि खसीबोकाले आँसु चुहाउनु जस्तै सावित भएको छ । नागरिकको जिम्मेवारीबाट च्यूत भएको राज्यबाट नागरिकले जीवनयापनको के आशा गर्ने ? जब राज्यमाथि नागरिकको आशा र भरोशा नै रहँदैन त्यस्तो राज्य संचालकले मेरो पछाडि नागरिकको ओइरो लागेको हुंकार गर्नु यो भन्दा ठुलो बिडम्वना के हुन सक्छ र ?

मानवीय समवेदनशीलता राज्यले गुमाउनु भनेको राज्यप्रति नागरिकको विश्वास हराउनु हो । अति समवेदनशील नागरिकको स्वास्थ्य दिनप्रति दिन ओरालो लाग्नु शासन र शासकको लागि चिन्ताको विषय बन्नु पर्नेमा त्यसो हुन सकिरहेको छैन । शासकलाई सत्ता जोगाउने चिन्ता र प्रतिपक्षको सत्तामा पुग्ने होडले पिल्सिएको छ आज नागरिक । उता राजा ज्ञानेन्द्र धर्मयात्राको आनन्द लिइरहेका छन् । अभिभावकविहीन नागरिक समाज भौंतारिरहेको वर्तमान अवस्थाको फाइदा धर्मान्तरणको अभियान चलाइरहेको विदेशी मिसनले उठाइ रहेको छ । हाम्रै करेसामा चर्च खोलेर इसुको महिमा गाउन लगाउने दलालहरूलाई लखेट्न सकिरहेका छैनौं ।

सनातन वैदिक परम्परा मासेर आफ्नो उपस्थिति बढाउन सक्रिय विदेशी मिसनको हरियो घाँस जनगणना गर्ने सरकारी निकायसम्म पुगिसक्यो । त्यही हरियो घाँस चपाएर उग्राएको कर्मचारीतन्त्र भ्रष्टिकरणको दलदलमा नराम्ररी फसिसक्यो । हरियो डलरको लोभमा जनगणना जस्तो आवधिक कार्य जसले मुलुकको भविष्यमा दुरगामी असर पार्न सक्छ त्यतातिर जिम्मेवार निकाय पटक्कै जिम्मेवार देखिँदैन । धर्म निरपेक्षताको नाममा हाम्रा कला, संस्कृति र परम्परा मासेर इसाइकरण गराउन सक्रिय विदेशी दलालहरू नीति निर्माणको निर्णायक भैरहेको टुलु टुलु हेरेर बसिरहेका छौं ।

तपाईंको आस्था र विश्वासमाथि हमला गर्न विदेशी निम्त्याउने दलालहरूकै हातमा शासन सत्ताको लगाम छ । चार जात छत्तिस वर्णको फुलबारीमा इसाइ नामको काउसो रोपेर सामाजिक सद्भाव बिथोल्ने रणनीतिकार सिंहदरवार र बालुवाटारमा छाती फुलाएर हिँडिरहेको छ । रमिते बनिरहेको प्रशासनिक निकायलाई यो इसाइकरणको स्वेतआतंकको राम्ररी जानकारी छ । तर पनि यस्ता गैर संवैधानिक गतिविधि रोक्न सकिरहेको छैन किन ? के साँच्चै आत्मरतिमा अलमलिएको राज्य समवेदनशीलता हराएको निष्प्राण भएकै हो ? जवाफ खोजिरहेका छन् जनजनले ।

(लेखक कोइराला एभिन्यूज खबरका खबर प्रमुख हुन् ।)

leave a reply