काठमाडौँ । सरोकारवालाहरुले तत्काल विद्यालय बन्द नगर्न शिक्षा मन्त्रालयलाई सुझाव दिएका छन्। कोरोना भाइरसको संक्रमण बढ्दै गएको अवस्थामा सोमबार बिहान शिक्षा मन्त्रालयमा शैक्षिक संस्थाहरुमा अपनाउन सकिने सावधानी र संक्रमण नियन्त्रणको प्रयासबारे शिक्षा सचिव रामप्रसाद थपलियासहित प्याब्सन, एनप्याब्सन, अभिभावक संघ लगायतसँग भएको छलफलमा सरोकारवालाहरुले उक्त सुझाब दिएका हुन् ।
अधिकांशले तत्काल विद्यालय बन्द नगर्ने तर सावधानीका उपायहरु अपनाउन सुझाव दिएको शिक्षा मन्त्रालयले जनाएको छ।
पछिल्ला दिनहरुमा संक्रमण बढ्न थालेको छ। शैक्षिक संस्थाहरुमा संक्रमण देखिन थालेपछि सरकारले विद्यालय बन्द गर्नेबारे सोच बनाए पनि सरोकारवालाहरुले तत्काल विद्यालय बन्द नगर्न सुझाव दिएका छन्।
आजको छलफलमा उठेका कुराहरुलाई सीसीएमसी हुँदै मन्त्रिपरिषद बैठकसम्म लैजाने शिक्षा सचिव रामप्रसाद थपलियाले बताएका छन्।
बैठकमा शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ भने सहभागी भएनन्।