ADVERTISING

Breaking News

खाटा बसेको घाउ कोट्याउँदा…

  • केदार कोइराला

‘लक्ष्मण दाइलाई भालाले रोपेर मारेरे’ । ध्रुव भाइले फोनमा यत्ति भनेर फोन राख्यो । संचारमाध्यममा टिकापुर घटनाको बेलिविस्तार शुरू भयो । अकल्पनीय घटनाको सत्य तथ्य भन्दा पनि संचारमाध्यमको अस्वस्थ प्रतिस्पर्धाले भ्रमित बनाएको थियो समाजलाई त्यतिखेर । फरक-फरक खबरले अत्तालिएको नेउपाने परिवारमा परेको त्यो बज्रपातको वर्णन शब्दमा सम्भव छैन । लक्ष्मण दाइको निवास पुग्दा भाउजु बेहोस, छोरी मुर्छित, आँगन भरी मान्छे सबैको मलिन अनुहार । पुलिसको बाक्लो उपस्थितिले छरछिमेकको भिडभाड । सोकमा डुबेको लक्ष्मण नेउपानेको निवासमा पुग्ने हरेकको अनुहारमा एउटै प्रश्न झल्किन्थ्यो । जिल्लाको प्रहरी प्रमुख भएर निसस्त्र किन गएको होला दंगामा ?

टिकापुर दंगाले नरसंहारको रूप लिनु भन्दा अगाडिको अवस्था के थियो ? बाबा र म एउटै गाडीमा थियौं । म टिकापुर जानुपर्‍यो तिमी क्वाटर जाउ भनेर बाबाले मलाई बाटैमा ओरालेर टिकापुर जानुभयो । म क्वाटरमै थिएँ, पुलिस अंकलहरू दौडादौड गर्न लाग्नु भयो । के भएको रहेछ भनेर म बाहिर आएर सोधें केही भएको होइन बाबु बाहिर ननिस्कनु भन्दै सबै पुलिस अंकलहरू गाडीमा बसेर निस्किनु भो । म भित्रै बसेर टिभीमा समाचार हेर्न थालें । एकैछिन पछि त एभिन्यूज टिभीमा ब्रेकिङ न्यूज आयो ‘टिकापुरमा प्रदर्शनकारीले प्रहरीलाई लखेटी लखेटी मारे’ । मैले हतार हतार बाबालाई फोन गरें बाबाको फोन नै उठेन । बाहिर सुनसान थियो, सेन्ट्रि अंकललाई गएर सोधें उहाँलाई पनि के भएको थाहै थिएन । टिकापुरमा झडप भयो रे मात्रै भन्नुभयो । म आत्तिँदै मामुलाई फोन गर्न लागें । तर मामुको फोनै लागेन । गहभरी आँसु पार्दै लक्ष्मण दाइको छोराले सुनाएको त्यो क्षण सम्झँदा अहिले पनि भक्कानो छुटेर आउँछ ।

छुट्टी मनाउन गएको छोराले बाउको लास बोकेर फर्कनु पर्‍यो । टिकापुर नरसंहारले बर्बरताको सीमा नाघेको थियो । प्रदर्शनकारीले वार्ता गर्न बोलाएर निसस्त्र पुगेका प्रहरीमाथि सांघातिक हमला गरे । प्रहरीलाई हतियार नबोकी आए मात्रै वार्तामा बस्ने भनेर प्रदर्शनकारीले झुक्याए । निसस्त्र पुगेका प्रहरीमाथि हतियारसहित जाइलागे र टिकापुर घटना एउटा नृशंस हत्याकाण्डमा स्थापित भयो । हत्याको योजनासहित आएका हत्याराहरूको नियोजित वार्ता नाटकको प्रहरी कमाण्डले भेउ पाउनै सकेन । शान्तिसुरक्षा कायम गर्न प्रदर्शनकारीको सर्त मान्दाको परिणाम प्रहरी नेतृत्वदेखि कलिलो शिशुको समेत ज्यान गयो ।

सम्झँदै पनि मुटु कमाउने त्यस्तो नृशंस हत्याकाण्डलाई राजनीतिको आवरणमा संरक्षण हिजो पनि मान्य थिएन र आज पनि कदापी मान्य हुने छैन । सत्ताको जोड घटाउमा अपराध निर्णायक हुन थाल्यो भने राज्यप्रति नागरिकले के अपेक्षा गर्ने ? माओवादीले रोपेको हत्याहिंसा र लुटपाट राजनीतिमा रूपान्तरण हुनु र त्यसलाई राज्यले नियन्त्रण गर्न असफल हुनुको दुखान्त परिणाम थियो टिकापुर हत्याकाण्ड । शान्ति वार्ता र माओवादीको राजनीति अवतरण जनजनले स्वागत गरेको शान्ति सन्देश थियो नै । तर माओवादी नेतृत्वको परिधि आफैंले सिकाएको लडाकु उनीहरूको वसमा थिएनन् । डर त्रास र धम्कीको आडमा मौलाएको लुटतन्त्रले जग हालिसकेको थियो । त्यसैको परिणाम बन्यो टिकापुर घटना । मान्छे मारेर सुखभोगमा पल्केका लुटेराहरूको झुण्ड ठाउँ-ठाउँबाट सक्रिय हुन थालेपछि त्यतिखेरै प्रश्न उठ्न थालेको थियो । माओवादी नेतृत्वप्रति असन्तुष्ट लडाकुहरू आतंक मच्चाउन अग्रसर भैसकेका थिए । छिटपुट घटनाहरू भैरहेकै थियो । त्यही आतंकको सिकार भए नौ जना सुरक्षाकर्मीसहित अवोध नावालक । त्यो निन्दनीय आतंकको जति निन्दा गरेपनि कम हुन्छ । सबै राजनीतिक दलहरूले टिकापुर हत्याकाण्डको भर्त्सनासहित विरोध जनाएका थिए । आफैंले गरेको त्यो निर्णय विपरीत अहिले बाध्यताको भारी बोक्नुको कारण त सोध्नै पर्ने हुन्छ जनताले । जवाफदेही हुने/नहुने त्यो भने यो विज्ञप्ति पढेर तपाईं आफैं गर्नुहोला ।

No description available.यो विज्ञप्तिमा हस्ताक्षर गर्ने प्रदीप ज्ञवालीलाई मैले चिनेको तीन दशक नाघ्यो होला । म उहाँको पहाड घर त पुगेको छैन, शंखमुलको एकतले घरमा पुगेर झण्डै तीन घण्टा उहाँसँगै बिताएको छु । म्याडमले बनाएको दुई कप चिया र मकैभटमास खाएर फर्कँदै गर्दा आउँदै गर्नोस् है भनेको प्रदीपजीको त्यो मिठो बोली अहिले पनि कानमा गुंजिरहेको छ । प्रदीपजीले आफ्नै घरमा गरेको सत्कार सम्झँदा र ईश्वरको वरदान भनेर ती अपाङ्ग छोरीलाई काखमा राखेर गरेको माया सम्झँदा प्रदीपजी प्रति मेरो सिर सधैं झुक्छ । उहाँको त्यो सालिनता, निःस्वार्थी मुस्कान र भद्रताको यो मेरो बयान उहाँलाई नजिकबाट चिन्नेहरूका लागि कम पनि लाग्न सक्छ । कम्युनिष्ट भैकन गान्धी पथका प्रदीपजी आज सत्ताको बचाउका लागि पथभ्रष्ट हुनुहोला भनेर म कल्पना पनि गर्न सक्तिनँ । निष्ठा र आदर्शलाई क्षणिक सत्तासुखले पगाल्न सक्तैन यो ज्ञान मैले प्रदीपजीबाटै सिकेको हुँ । टिकापुर घटनामा भाला र तरवारले रोपी रोपी राष्ट्रसेवक अनि त्यो कलिलो मुनाको हत्या भैरहँदा नेपालको राजनीतिले मूर्तरूप लिसकेको थिएन । एमाले, काँग्रेस, माओवादी, मधेशवादी र राजावादी सबका सब आ-आफ्नै अस्तित्व रक्षामा दत्तचित्त देखिन्थे । हत्या, हिंसा र लुटपाटको राजनीतिले विश्राम लिसकेको थियो । र त प्रदीपजीको हस्ताक्षरसहितको वक्तव्य सार्वजनिक गरेर एउटा जिम्मेवार पार्टीले आफ्नो जिम्मेवारी पूरा गर्‍यो । त्यही जिम्मेवार दलको सरकार र त्यही हस्ताक्षरकर्ता प्रदीपजी सरकारको प्रवक्ता भैरहँदा हिंसाले फेरि प्रश्रय पाउँछ भन्ने कुरामा अरूले के-कसरी व्याख्या गर्छन् थाहा भएन मलाई चैं, रत्तिभर विस्वास छैन । ॐ नम शिवाय:

(लेखक कोइराला एभिन्यूज खबरका खबर प्रमुख हुन् ।)

leave a reply