काठमाडौं : नेकपाको आधिकारिकता विवादका विषयमा छलफलका लागि नेकपाको दाहाल–नेपाल समूहले थप समय माग गरेको छ ।
अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल काठमाडौंबाहिर रहेकाले उपस्थित हुन नसकेको जानकारी गराउँदै सो समूहले समय मागेको हो ।
निर्वाचन आयोग पुगेका दाहाल-नेपाल समूहका नेताहरु लीलामणि पोखरेल, राजेन्द्र पाण्डे र कानुन व्यवसायी मुक्ति प्रधानले अध्यक्षद्वय उपस्थित हुन नसक्ने जानकारी गराएका हुन् । सो समूहले आयोगलाई बुझाएको पत्रमा पुनः अरू नै कुनै मिति तोकेर छलफलका लागि बोलाउन आग्रह गरिएको छ ।
दाहाल-नेपाल समूहका अध्यक्ष दुबै जना विरोध सभामा सहभागी हुनका लागि उपत्यका बाहिर रहेका छन् । आयोगले छलफलमा अध्यक्ष अथवा अध्यक्षले तोकेका आधिकारिक पाँच–पाँच जनालाई बोलाएको थियो ।
आगामी निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सूचना प्रकाशन गर्ने समय आउन लागेकाले त्यस विषयमा छलफल गर्न दुबै पक्षलाई बोलाएको थियो ।
यसअघि आधिकरिकताका लागि दुबै समूहले दिएको निवेदनमा दावी नपुगेको आयोगले जनाएको थियो । आयोगले माघ १२ गते दुवै पक्षलाई आधिकारिकता नदिने निर्णय गर्दै पत्राचार समेत गरेको थियो । पार्टी विभाजनछि नेकपामा पार्टीको नाम र चुनाव चिन्ह आफ्नोमा पार्न होडबाजी चलेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपा व्यवहारिक रुपमा विभाजित भएको छ । तर औपचारिक विभाजन नहुँदा आयोगले त्यसमा कुनै निर्णय दिएको छैन ।